अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण कार्य पूर्णरूपमा सम्पन्न भएको छ ।
सडक विस्तारसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुननिर्माण कार्यलाई तीव्रता दिएको छ ।
पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपियाँ विनियोजन गरेको छ ।
विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाहरूको पुननिर्माण कार्य धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१२, घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुननिर्माणका लागि समेत विशेष तयारी सुरु गरिएको छ ।
भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपियाँको बृहत् गुरुयोजना अनुसार पार्क निर्माणको प्रक्रिया अघि बढेको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसङ्ग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
एसियाली विकास बैँक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपियाँ लागतमा स्तरोन्नति भएको यस ४१ किलोमिटर सडक खण्डको निर्माण पूरा भइसकेको छ ।
सडक कालोपत्रे, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको छ ।
आयोजनाले भौतिक विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणलाई स्थानीय समितिको सहकार्यमा धमाधम भइरहेको छ ।
यस खण्डमा पर्ने मादी नदीको पुल निर्माणको काम पनि ८३ प्रतिशत सकिएको र बाँकी काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको लाइफलाइन मानिने राजमार्गको नमुना विस्तारका रूपमा हेरिएको छ ।