ललित बसेल
सुर्खेत, वैशाख १८ गते । सेवाग्राहीको बाक्लो भीड लाग्ने यातायात व्यवस्था कार्यालय सुर्खेतले कर्मचारीको चरम अभाव भोगिरहेको छ । न्यून जनशक्तिका कारण कार्यालयले सेवा प्रवाह गर्न गाडी चालक र कार्यालय सहयोगीलाई समेत दर्तालगायतका काममा खटाउनुपरेको छ ।
कार्यालयमा हाल दुई जना कार्यालय सहयोगी र एक जना चालकसहित १५ जना कर्मचारी कार्यरत छन् । कार्यालयले प्रभावकारी सेवा प्रवाह गर्न कम्तीमा ३० जना कर्मचारी आवश्यक पर्ने जनाएको छ ।
कर्मचारी अभाव भएपछि गाडी चालक र कार्यालय सहयोगीलाई दर्ता तथा रुट परमिटको काममा लगाउनुपरेको कार्यालय प्रमुख मुकुन्दनाथ योगीले बताउनुभयो । कार्यालयले दैनिक सेवा प्रवाहका साथै हप्तापिच्छे लाइसेन्स वितरण र ट्रायल सञ्चालन गर्दै आएको छ । ती सबै काम गर्दा जनशक्ति अभावका कारण सहज सेवा दिन कठिन भइरहेको उहाँको भनाइ छ ।
अहिलेसम्म पाँच पटकसम्म कर्मचारी माग गरिएको भए पनि सम्बन्धित मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रमुख सचिवलगायतलाई पत्राचार गर्दा पनि सुनुवाइ नभएको कार्यालय प्रमुख योगीले बताउनुभयो ।
कार्यालय सहयोगी र चालकलाई दर्तालगायतका काममा खटाउन नमिल्ने भए पनि सेवाग्राहीलाई छिटो सेवा दिन बाध्य भएर त्यसो गर्नुपरेको उहाँले बताउनुभयो ।
कर्मचारी अभावकै कारण पूर्ण क्षमतामा लाइसेन्स सेवा सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ । सातामा कम्तीमा पाँच सयदेखि सात सयसम्म लाइसेन्स खुलाउनुपर्ने भए पनि हाल डेढ सयदेखि दुई सय जनासम्मको मात्र लाइसेन्स प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
पूर्ण जनशक्ति व्यवस्थापन भए सातामा सात सयसम्म लाइसेन्स खुलाउन सकिने र त्यसबाट कार्यालयको राजस्वसमेत बढ्ने उहाँको भनाइ छ । कार्यालयका कर्मचारीलाई लाइसेन्स परीक्षा तथा ट्रायलमा खटाउँदा अन्य सेवाग्राहीको काम प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको चैतसम्म कार्यालयबाट ८३३ वटा मात्र नयाँ लाइसेन्स जारी भएका छन् । पर्याप्त जनशक्ति भए वार्षिक छ हजारसम्म लाइसेन्स वितरण गर्न सकिने कार्यालयको अनुमान छ ।
कार्यालयले हालसम्म २२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । मागअनुसार जनशक्ति पूर्ति भए सेवा प्रवाह र राजस्व दुवैमा सुधार आउने कार्यालय प्रमुख योगीले बताउनुभयो ।
यसैबीच, यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलिया हटाइएपछि सेवाग्राहीलाई केही सहज भएको कार्यालयले जनाएको छ । करिब तीन साताअघि प्रहरीले कार्यालय परिसर बाहिर रहेका १० जना बिचौलियालाई पक्राउ गरी हटाएको थियो ।
कार्यालय प्रमुख योगीका अनुसार बिचौलिया हटाइएपछि सेवा प्रवाहमा सुधार आएको छ । यद्यपि कर्मचारी अभावका कारण सेवाग्राहीलाई पर्याप्त सहजीकरण गर्न भने अझै समस्या रहेको उहाँले बताउनुभयो ।