भक्तिविलास पोखरेल
गाईघाट, वैशाख १८ गते । जिल्ला प्रशासन कार्यालय उदयपुरले हुलाक सेवामार्फत सेवाग्राहीलाई घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सञ्चालन गरेको छ । यो सेवा सुरु भएसँगै अब सर्वसाधारणले आफ्नो राहदानीको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ ।
वर्तमान नेपाल सरकारको शासकीय सुधार अन्तर्गत सुरु गरिएको नयाँ व्यवस्था अनुसार नागरिकले राहदानी लिन सरकारी अड्डा धाइरहनु नपर्ने गरी हुलाक सेवाबाट सम्बन्धित व्यक्तिको घर ठेगानामा नै राहदानी पठाउने व्यवस्था मिलाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णय अनुसार सरकारी सेवा घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको हो । सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच सम्झौता गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले जानकारी दिनुभयो ।
यस सेवा अन्तर्गत अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफूले चाहेको तरिकाले राहदानी प्राप्त गर्न सक्नेछन् । आवेदन दिएकै समयमा हुलाकमार्फत घरमै बुझ्ने वा कार्यालयबाटै बुझ्ने भन्ने विकल्प छनोट गर्न सकिने व्यवस्था गरिएको छ । सेवाग्राहीको इच्छा अनुरूप राहदानी उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेले जानकारी दिनुभयो ।
यस्तो प्रक्रियाबाट सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट राहत पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी टाढा–टाढाबाट जिल्ला प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि यो सेवा निकै प्रभावकारी हुने विश्वास लिइएको छ ।