• १८ वैशाख २०८३, शुक्रबार

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

blog

वासिङ्टन, वैशाख १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ । विभिन्न अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट अनुसार बेइजिङ भ्रमणलाई प्राथमिकतामा राख्दै ह्वाइट हाउसले इरानसम्बन्धी निर्णयमा सावधानीपूर्वक सन्तुलन खोजिरहेको छ ।

एनबिसीको रिपोर्ट अनुसार ह्वाइट हाउसका एक अज्ञात अधिकारीले राष्ट्रपति ट्रम्पले इरानसँग सम्बन्धित विकल्प मूल्याङ्कन गर्दा चीन भ्रमणलाई महत्त्वपूर्ण कारकका रूपमा लिएको जानकारी दिनुभएको छ । मे १४ र १५ का लागि तय गरिएको यो भ्रमणलाई प्रशासनले अत्यन्त प्राथमिकताका साथ हेरिरहेको छ । द्वन्द्व सुरु भएपछि एक पटक स्थगित भइसकेको भ्रमणलाई फेरि पछाडि सार्ने पक्षमा प्रशासन नरहेको जनाइएको छ ।

यसैबिच, दी न्युयोर्क टाइम्सले स्ट्रेट अफ हर्मुज र इरानी बन्दरगाह वरिपरि लागु गरिएको दोहोरो समुद्री प्रतिबन्धले कूटनीतिक वातावरणलाई अझ जटिल बनाएको उल्लेख गरेको छ । यी अवरोधले बेइजिङ भ्रमणलाई ‘उच्च जोखिमयुक्त’ बनाइरहेको बताइएको छ, जहाँ सुरक्षा र आपूर्ति व्यवस्थापन दुवै चुनौतीका रूपमा उभिएका छन् ।

चीनले युद्ध अन्त्यका लागि मध्यस्थ भूमिका खेल्ने इच्छा व्यक्त गरिरहे पनि वासिङ्टन र बेइजिङबिचको तनाव कायम छ । अमेरिकी प्रशासनले इरानी तेलसँग व्यापार गरेको आरोपमा चिनियाँ ढुवानी कम्पनी र तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाउँदै आएको छ, जसले द्विपक्षीय सम्बन्धमा थप दबाब सिर्जना गरेको छ । ऊर्जा सुरक्षाको प्रश्नले पनि यस समग्र परिस्थितिलाई जटिल बनाएको छ । 

चीनसहित धेरै देश हर्मुज जलघाँटीमार्फत हुने तेल ढुवानीमा निर्भर छन् । मार्चको सुरुदेखि जलमार्ग आंशिकरूपमा बन्द हुँदा विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ र यसले अमेरिका-चीन वार्तामा नयाँ दबाब थपेको छ । यसबिच राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता जारी रहेको खुलासा गर्नुभएको छ, तर ती वार्ताको विवरण सीमित समूहमा मात्र राखिएको उहाँको भनाइ छ । “वार्ताको वास्तविक अवस्था थाहा पाउने म र केही व्यक्ति मात्रै हौँ”, उहाँले ओभल अफिसमा पत्रकारसँग भन्नुभयो । 

साथै, इरानको नेतृत्व संरचना अस्पष्ट रहेको उल्लेख गर्दै उहाँले वार्तामा त्यसले चुनौती थपेको बताउनुभयो । यद्यपि, ट्रम्पले इरान सम्झौताको खोजीमा रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार अमेरिकी नाकाबन्दी र आर्थिक दबाबले इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा परेको छ । “अवरोधको प्रभाव अत्यन्तै गहिरो छ”, उहाँले भन्नुभयो । यसले हर्मुज जलघाँटी केन्द्रित अमेरिकी रणनीतिक दबाबलाई सङ्केत गर्छ ।

सैन्य विकल्पका सन्दर्भमा भने ट्रम्पले सतर्कता देखाउनुभएको छ । ठुलो स्तरको आक्रमण आवश्यक छ वा छैन भन्नेबारे अनिश्चितता व्यक्त गर्दै उहाँले परिस्थिति हेरेर निर्णय गरिने सङ्केत दिनुभयो । सिएनएनका अनुसार पेन्टागनबाट अद्यावधिक सैन्य विकल्प प्राप्त हुने अपेक्षा गरिएको छ, जसले आगामी निर्णय प्रक्रियामा भूमिका खेल्ने छ । अमेरिकी आन्तरिक राजनीतिमा पनि यस विषयले बहस चर्काएको छ । कंग्रेसले राष्ट्रपतिको सैन्य अधिकार सीमित गर्न प्रयास गरिरहँदा ट्रम्पले त्यसको आलोचना गर्नुभएको छ । 

उहाँले आफू इरानसँग सम्झौतामा केन्द्रित हुँदा पनि विधायिकाबाट निरन्तर अवरोध भइरहेको गुनासो गर्नुभयो । यसैबिच, युद्धविरामका कारण सन् १९७३ को युद्ध शक्ति प्रस्ताव अन्तर्गतको ६० दिने समयसीमा रोकिने प्रशासनको दाबीले नयाँ कानुनी विवाद निम्त्याएको छ । रक्षामन्त्री पीट हेगसेथले सिनेटमा गवाही दिँदै युद्धविरामले उक्त समय सीमा स्थगित भएको तर्क गर्नुभयो । तर डेमोक्रेटिक सिनेटर टिम केनले यस व्याख्यामा असहमति जनाउँदै कानुनी रूपमा यो टिक्न नसक्ने बताउनुभयो । रासस/एएनआई