• १८ वैशाख २०८३, शुक्रबार

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

blog

याङ्गुन, वैशाख १८ गते । पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिनुभएको हो ।

यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उहाँलाई कहाँ राखिने भन्ने स्पष्ट पारिएको छैन । सार्वजनिक गरिएको एउटा तस्बिरमा उहाँ दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उहाँलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ ।

नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । उनका अनुसार ‘तोकिएको निवास’ पूर्णरूपमा सुरक्षा निकायको नियन्त्रणमै रहने छ । सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन । यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भन्नुभयो । 

यद्यपि सुकीका वकिलले भने उहाँ अझै पनि अन्याय पूर्णरूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन् । सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उहाँलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो । अधिकारवादी समूहले ती आरोपलाई राजनीतिक रूपमा प्रेरित बताएका छन् । त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।

हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई प्रक्रिया बाहिर राख्नुभएको थियो । चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन । लोकतन्त्रका पक्षधरले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

विश्लेषकका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय पनि त्यही रणनीतिको निरन्तरता हुन सक्छ । सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताउनुभयो । उहाँले सुकीलाई परिवार र कानुनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिनुभयो । देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिनुभएको छ । 

परिवारले उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ । यसैबिच, मिन आङ ह्लाइङले उहाँका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिनुभएको छ, जसलाई राजनीतिक सङ्केतका रूपमा हेरिएको छ । रासस/एएफपी