अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते । विश्वभर आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने नाराका साथ मनाइरहँदा तनहुँका धेरै श्रमजीवीका लागि भने यो दिवस ‘आकाशको फल’ जस्तै बनेको छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू दमौली, डुम्रे, आँबुखैरेनी, भिमाद र दुलेगौंडामा बिहानैदेखि मजदुरहरू अरू दिनझैँ काममै व्यस्त देखिएका छन् ।
दमौलीको सडकमा घर–घर ग्यास सिलिन्डर पुर्याउँदै गरेका चन्द्रबहादुर विकले भन्नुभयो, “इन्धन र सामानको मूल्य आकाशिएको बेला दिवस मनाएर पेट भरिँदैन, काम नगरी जीवन चल्दैन ।” उहाँजस्तै धेरै श्रमिकका लागि दिवसको बिदा र औपचारिक कार्यक्रम भन्दा साँझको छाक टार्ने चिन्ता ठुलो बनेको छ ।
अटो चलाउँदै भेटिएकी श्रीधरा थापा मगरको पीडा पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “दिवस हो भन्ने थाहा त छ, तर बैँकको किस्ता पर्खिँदैन । एक दिन काम रोक्दा महिनाभरिको हिसाब बिग्रिन्छ ।” बैँकको ऋण र दैनिक जीविकोपार्जनको दबाबले श्रमिकहरूलाई अधिकारका लागि सडकमा निस्किन समेत कठिन बनाएको छ ।
स्थानीय तह र विभिन्न मजदुर सङ्गठनहरूले औपचारिक कार्यक्रम तथा र्याली गरिरहँदा व्यास नगरपालिका–१, भादगाउँमा सिमेन्ट घोल्दै गरेका देवबहादुर कुमाल भन्नुहुन्छ, “हाम्रा लागि जुन दिन काम पाइन्छ, त्यही दिन उत्सव हो । नेताका भाषणले हाम्रो चुलो बल्दैन ।”
अधिकारकर्मीहरूका अनुसार तनहुँमा अझै पनि ठुलो सङ्ख्यामा मजदुरहरू अनौपचारिक क्षेत्रमा न्यून ज्यालामा काम गर्न बाध्य छन् । श्रमिकको सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयन नहुँदा दिवसको औपचारिकता मात्र देखिने र वास्तविक श्रमजीवीसम्म यसको प्रभाव नपुगेको उनीहरूको भनाइ छ ।