पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १८ गते । बुद्ध जयन्तीका अवसरमा भगवान् गौतम बुद्धको मावली तथा पवित्र अस्थिधातु रहेको ऐतिहासिक स्थल पश्चिम नवलपरासीको रामग्राममा साइकल र्याली गरिएको छ । रामग्राम नगरपालिकाका अनुसार शुक्रबार बुद्धको मावली क्षेत्र पण्डितपुरबाट सुरु भएको र्याली रामग्राम स्तूपसम्म सम्पन्न भएको हो ।
यसैगरी, शुक्रबार साँझ परासी बजारमा खाना महोत्सव कार्यक्रम समेत आयोजना गरिएको छ । पहिले लुम्बिनीमा मात्र केन्द्रित हुने बुद्ध जयन्ती पछिल्ला वर्षहरूमा रामग्राममा पनि मनाउन थालिएको र यसले निरन्तरता पाएको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्रामको ऐतिहासिक र धार्मिक महत्त्व उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रामग्राम, पण्डितपुर र अनौमाघाट जस्ता बुद्धसँग सम्बन्धित स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनका लागि हामी निरन्तर लागिरहेका छौँ । यस अभियानले हाम्रो क्षेत्रलाई बौद्ध पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न ठुलो सहयोग पुग्ने छ ।”
बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउँदै रामग्रामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचान बढाउने र यसलाई बुद्ध जयन्ती मनाउने अर्को महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
रामग्राम, पण्डितपुर र अनौमाघाट जस्ता बुद्धसँग सम्बन्धित स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनका लागि स्थानीय तहबाट निरन्तर पहल भइरहेको छ । यस अभियानले यस क्षेत्रलाई बौद्ध पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकहरूको छ ।