• १८ वैशाख २०८३, शुक्रबार

सडक नपुगेका बस्तीमा सारिए खच्चड

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १८ गते  । सडक सञ्जाल पुगेका स्थानमा रहेका खच्चड अहिले सडक नपुगेका ठाउँमा सारिएका छन् । सडक सञ्जाल नजोडिएका दूरदराजका बस्तीमा सामान ढुवानी गर्न खच्चड सारिएका हुन् । 

चङ्खेली गाउँपालिका–६ का मानबहादुर शाहीले पहिले मुगु र बाजुराबाट सदरमुकाम सिमकोट हुँदै नेपाल र चीनको सिमाना हिल्सासम्म सामान ढुवानी गर्ने मुख्य साधनका रूपमा रहेका खच्चडलाई अहिले सडक सञ्जाल नजोडिएका दुर्गमका बस्तीमा सारिएको बताउनुभयो । उहाँले दुर्गम बस्तीमा पुगेका खच्चडले आवश्यक विकासनिर्माणका सामग्रीदेखि गोठे मल र ढुङ्गालगायतका स्थानीय सामग्री ढुवानी गरेर राम्रो आम्दानी लिइरहेको बताउनुभयो । 

जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदासम्म दैनिक पाँच सयभन्दा बढी खच्चडले सामान ढुवानी गर्दै आएका थिए । 

हाल त्यति धेरै सङ्ख्यामा खच्चड नभए पनि सडक नजोडिएका गाउँमा १५ देखि २० वटा खच्चडले सामान ढुवानी गर्दै आएका छन् । खच्चड व्यवसायी सदरमुकाम र गाउँपालिका केन्द्रबाट विस्थापित भए पनि सडक नजोडिएका बस्तीबाट आम्दानी गर्न सफल भएको सर्केगाड गाउँपालिका–७ का कृष्णप्रसाद जैसीले बताउनुभयो । उहाँले आफ्नो वडाका बस्ती पनि सडक नजोडिएका कारण खच्चडबाटै सामान ढुवानी गरिरहेको जनाउनुभयो । खच्चडबाट सामान ढुवानी गर्दा स्थानीयलाई सहज पनि भएको उहाँको भनाइ छ । 

 खच्चड व्यवसायी पहिले जस्तो राम्रो आम्दानी गर्न नसके पनि धेरै थोरै कमाइ भने भइरहेको बताएका छन् । 

जिल्लाभर अहिले पनि ५० बन्दा बढी बस्ती सडक सञ्जालसँग जोडिन सकेका छैनन् । ती बस्तीमा आवश्यक पर्ने निर्माण सामग्रीदेखि खाद्यान्नलगायतका अन्य सामान खच्चडमै ढुवानी गरेर पु¥याउनुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो ।