• १८ वैशाख २०८३, शुक्रबार

आन्तरिक र बाह्य पर्यटकले भरिभराउ सुकुटे

blog

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा रहेका रिसोर्ट तथा होटलहरू, जहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । तस्बिर चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, वैशाख १८ गते ।
सरकारले लागु गरेको शनिबार र आइतबारको बिदाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे क्षेत्रका रिसोर्टहरू आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेका छन् । सुकुटे क्षेत्रमा सुविधासम्पन्न १८ वटा रिसोर्ट तथा होटलहरू रहेका छन् ।

सुनकोशी नदीमा र्‍याफ्टिङ, स्विमिङ, कायाकिङ, थ्रिल भ्यालीका पिङ, जिपलाइन, बिच भलिबल, नदी किनारमा रात्री विश्राम, जङ्गली सफारी, उकाली–ओराली पैदल यात्रा तथा रक क्लाइम्बिङजस्ता गतिविधिका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गरेको सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

शुक्रबार साँझदेखि नै सुकुटेका रिसोर्ट तथा होटलमा पर्यटकको भिड लाग्ने गरेको छ । शुक्रबार करिब दुई हजार, शनिबार एक हजार पाँच सय, आइतबार पाँच सय र अन्य दिनमा तीन सयभन्दा बढी पर्यटक आउने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार सुकुटे क्षेत्रमा आउने पर्यटकले प्रतिव्यक्ति करिब पाँच हजार रुपियाँ खर्च गर्दा साप्ताहिक रूपमा करिब दुई करोड ५० लाख रुपियाँसम्म आम्दानी हुने भएकाले राज्यलाई पनि लाभ पुगेको छ ।

सुकुटेमा विदेशी पाहुना, कर्मचारी, व्यापारी–व्यवसायी, मध्यमवर्गीय परिवार तथा सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरू भ्रमणका लागि आउने गरेका छन् । पर्यटक आगमनबाट सुकुटे क्षेत्रमा पाँच सयभन्दा बढीले रोजगारी पाएको छ । स्थानीय होटल तथा लजहरू प्रायः भरिभराउ हुने गरेका छन् भने स्थानीय उत्पादन पनि रिसोर्टहरूले खरिद गर्दा कृषकहरूले उचित मूल्य पाउने गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा नेसनल जियोग्राफिक नेपालका प्रतिनिधि रहिसकेका थापाले सुकुटेलाई जुगल हिमालसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो । सरकारले उक्त हिमशृङ्खलालाई पर्वतारोहणका लागि खुला गरेसँगै पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ ।

जुगल हिमाल आरोहणका लागि आउने पर्यटकहरू जाने क्रममा एक रात र फर्किने क्रममा दुई रात सुकुटेमा बस्ने योजना बनेकाले यसले सुकुटेका रिसोर्ट तथा होटलहरूको महत्त्व अझ बढ्ने थापाले बताउनुभयो ।