विश्व रेकर्डका अनेक क्षेत्र छन् । काठमाडौँका एलिसा र रुबिसा श्रेष्ठले नाचेर विश्व कीर्तिमान बनाउनुभएको छ । चन्द्रागिरि नगरपालिका–६ मा जन्मिनुभएका एलिसा र रुबिसाले निरन्तर ४१ घण्टा ५ मिनेट ‘कपल डान्स’ (युगल नृत्य) गरेर विश्व कीर्तिमान राख्नुभएको हो । उहाँहरूले २०७६ साल फागुन १४ र १५ (सन् २०१९ मे २०–२१) गते युगल नृत्य गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउनुभएको हो ।
बुवा सन्तप्रकाश श्रेष्ठसमेत नृत्यकार भएकाले विश्व कीर्तिमानका लागि उहाँहरूलाई परिवारबाटै ऊर्जा मिलेको थियो । एलिसा र रुबिसाले संयुक्त राज्य अमेरिकाका ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा रहेको ३८ घण्टा लामो कीर्तिमान तोड्नुभएको हो ।
विश्व कीर्तिमान बनाउँदाको खुसी व्यक्त गर्ने शब्द नभएको सम्झना एलिसाको छ । “सानैदेखि डान्समा रुचि भएकाले यो क्षेत्रमा केही गर्छौं भन्ने लागेको थियो । त्यो बेला विश्व रेकर्ड होल्डर बन्नु सामान्य कुरा थिएन । त्यो खुसी शब्दमा व्यक्त गर्न नसक्ने अवस्था थियो,” एलिसाले भन्नुभयो ।
विश्व कीर्तिमान बनाउँदा दिदी एलिसा १८ र बहिनी रुबिसा १६ वर्षीय हुनुहुन्थ्यो । रुबिसाले टेकुको क्यापिटल एकेडेमीबाट कक्षा १२ को पढाइ सक्नुभएको थियो भने बहिनी एलिसा एभरेस्ट कलेज, सोल्टीमोडमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्थ्यो । कक्षा ११ र १२ पढ्दा अन्य विद्यार्थी सामान्य पुस्तकमै अल्झिएको बेला उहाँहरूले बनाउनुभएको विश्व कीर्तिमानले ठुलो चर्चा पाएको थियो । बाल्यकालबाटै नृत्यमा विशेष रुचि राख्ने दिदीबहिनीको मेहनतले विश्व कीर्तिमान बनेको हो । यो कीर्तिमान बनेपछि उहाँहरूको दैनिकी फेरियो । नियमित कलेज जाने र पढेर फर्किने दिदीबहिनीले केही समय बधाई खाएरै समय गयो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमै बोलाएर बधाई दिनुभयो ।
विदेशमा विश्व कीर्तिमान बनाउनेलाई धेरै सुविधा भए पनि नेपालमा प्रमाणपत्रलाई नै ठुलो मान्नुपर्ने बाध्यता रहेको एलिसाको अनुभव छ । उहाँले भन्नुभयो, “विश्व रेकर्डलाई नेपालमा ठुलो प्राथमिकतामा राखिँदैन । नेपालमा प्रमाणपत्र नै ठुलो कुरा हो । एउटा सफलता हो भनेर त्यसलाई सुरक्षित राखेकी छु ।”
विश्व कीर्तिमान कायम भएलगत्तै बहिनी रुबिसा अमेरिका गएपछि पछिल्लो समय दिदी एलिसा म्युजिक भिडियोमा नृत्य गर्न व्यस्त हुनुहुन्छ । उहाँले अहिलेसम्म छ वटा म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ ।
दिदीबहिनीको म्युजिक भिडियोको सुरुवात टङ्क बुढाथोकीको ‘मन बिनाको धन ठुलो’ बोलको गीतबाट भएको हो । मन बिनाको धन ठुलो–२ बाट औपचारिक रूपमा सुरुवात भएको म्युजिक भिडियो यात्रा ‘वरको छायाँले’, ‘डाँडै काटौँला’, ‘दसैँ आयो’, ‘सिमाना’ लगायत म्युजिक भिडियो चर्चित छ ।
एलिसा अहिले नृत्य विषय लिएर पद्मकन्या क्याम्पस, बागबजारमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँले म्युजिक भिडियोमा अभिनय, अध्ययनसँगै काठमाडौँ चन्द्रागिरि नगरपालिका–५, मातातीर्थमा आरम्भ मन्टेश्वरी खोलेर बालबालिकाका लागि नृत्यसँगै अन्य ज्ञान बाँड्दै आउनुभएको छ । एलिसाले भविष्यमा नेपालमै बसेर एउटा ‘डान्स रियालिटी सो’ सञ्चालन गर्ने लक्ष्य राख्नुभएको छ ।