दाङ समाचारदाता
दाङ, वैशाख १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद् कार्यक्रममा सहभागी युवासँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेश सरकारले बजेट तथा कार्यक्रममार्फत युवामैत्री नीति ल्याउने र बैङ्किङ प्रणालीमार्फत उद्यमशीलताका लागि लगानी परिचालन गर्ने योजना बनाएको बताउनुभयो । “प्रदेश सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट विनियोजन गर्छ,” उहाँले भन्नुभयो, “युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध रूपमा अघि बढेका छौँ ।”
मुख्यमन्त्री आचार्यले युवा वर्तमानका हिस्सेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले असल नागरिकका रूपमा प्रस्तुत हुँदै राष्ट्रनिर्माणमा सक्रिय हुन आह्वान गर्नुभयो । उहाँले मुलुक अग्रजको ठुलो बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै राष्ट्रियता, धर्म र संस्कृतिप्रति सचेत रहन युवालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियता कमजोर भयो भने मुलुक पनि कमजोर हुन्छ । त्यसैले राष्ट्रियताको भावना विकास गर्न युवाको भूमिका महत्वपूर्ण छ ।”