काठमाडौँ, मङ्सिर १८ गते । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) का तर्फबाट दायर रिटको पेसी थियो । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको इजालसमा ‘छ’ नम्बरमा एमालेका तर्फबाट दर्ता रिट पेसीमा थियो । राजनीतिक विवादको मुद्दाको पेसी परेकाले संवैधानिक इजलासमा प्रारम्भदेखि नै कानुन व्यवसायीको उपस्थिति बाक्लो थियो ।
संवैधानिक इजलासमा एमालेको मुद्दाभन्दा ठिक अघिल्लो अर्थात् ‘च’ नम्बरमा गेहेन्द्र मल्लविरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसमेतको रिट निवेदन थियो । २०८२ भदौ २२ गते दर्ता उक्त रिटमा बहसका लागि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई तथा अधिवक्ताहरू सुलभ खरेल, निशान्तबाबु खड्कालगायत उपस्थित थिए । खड्का र खरेलसँग पक्षका तर्फबाट बहसको वकालतनामा समेत थिएन ।
बहसमा उपस्थितमध्ये खरेल उनै अधिवक्ता, जसले जेनजी आन्दोलनका व्रmममा भदौ २४ गते सर्वोच्च अदालत जलेको विषयमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको पोस्टका कारण निकै विवादित बन्नुभएको थियो । सर्वोच्च र नेपाल बार एसोसिएसन जल्दा आफूलाई एकरत्ति मन नरोएको टिप्पणी खरेलले गर्नुभएको थियो । साथै अदालतमा शेरबहादुर र केपी ओलीको अनुहार देख्ने गरेको तथा न्यायाधीशहरूले राजनीतिक स्वार्थमा फैसला भनेर आफ्नो स्वार्थ अनुकूल निबन्ध लेख्ने गरेको टिप्पणी गर्नुभएको थियो । न्यायपालिकाको भविष्य सुलभ खरेलले लेख्ने छ भन्ने उद्घोष पनि उहाँले पोस्टमा गर्नुभएको थियो ।
जेनजी आन्दोलनको राप सेलाए पनि खरेलले गर्नुभएको टिप्पणी न्यायपालिका वृत्तमा सेलाइसकेको छैन । घटनाको प्रभाव सोमबार संवैधानिक इजलासमा समेत प्रतिविम्बित भयो । जब खरेल गेहेन्द्रको मुद्दामा बहसका लागि इजलासमा उभिनुभयो, परिचय सकिनसाथ न्यायाधीशको अनपेक्षित प्रश्नमा पर्नुभयो । प्रधान न्यायाधीश राउतले इजलासमा खरेललाई प्रश्न गर्नुभयो, “विद्वान् तपाईं इजलासमा बहसका लागि आउनुभयो । तपाईंलाई याद छ कि छैन भदौ २४ मा अदालत जल्दा सामाजिक सञ्जालमा के लेख्नुभएको थियो ? अदालत र बार जल्दा सुखी हुनुपर्ने कारण के थियो ? अदालत त चाहिँदो रहेछ होइन ?’
प्रधान न्यायाधीशको प्रश्नमा सुरुमा खरेलले प्रतिरक्षाको प्रयास गर्नुभएको थियो । खरेलले आफूले राजनीतिप्रेरित अदालतको विपक्षमा स्टेटमेन्ट दिएको बताउनुभयो । साथै खरेलले न्यायाधीशको राजनीतिक नियुक्तिको प्रसङ्गलाई त्यहाँ पनि निकाल्नुभयो ।
खरेलको भनाइ सकिन नपाउँदै प्रधान न्यायाधीश राउतले राजनीतिक व्यक्ति भनेकोमा थप आपत्ति जनाउँदै यत्तिको घटना हुँदा पनि कुनै पश्चात्ताप छैन भन्दै क्षमायाचनाको विषय भएको बताउनुभयो । राउतको प्रश्नपछि खरेल चुपचाप बस्नुभयो तर सँगै रहनुभएका वरिष्ठ अधिवक्ता भट्टराईले घटना सामान्यीकरणको प्रयास गर्नुभयो । खरेल प्रतिभाशाली युवा कानुन व्यवसायी भएको, अमेरिकाबाट स्नातकोत्तर गरेर फर्किएकोलगायतका विषय पनि भट्टराईले राख्नुभयो ।
भट्टराईको प्रस्तुतिपछि इजलासमा प्रधान न्यायाधीशसहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र अन्य न्यायाधीशले पनि प्रश्न थाल्नुभयो । राउत र प्रधानले भट्टराईको प्रतिरक्षामा चित्त नबुझाउँदै अमेरिकामा फेलोसिपमा धेरैले पढेर आएका छन् भनेर टिप्पणीसमेत गर्नुभयो । विवाद चर्किदै गएपछि भट्टराईले खरेलसमेतको तर्फबाट म माफी माग्छु भनी इजलासमा प्रस्तुत हुनुभयो तर न्यायाधीशहरूले अर्काको गल्तीमा तपाईं माफी माग्नु पर्दैन भन्ने जवाफ भट्टराईलाई दिनुभयो ।
विवाद लम्बिँदै जाँदा निकै तनावमा आइसक्नुभएका खरेलका हात काँपिरहेका थिए । एकैछिनमा खरेल इजलासअघि ढल्नुभयो । इजलासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले खरेललाई उठाएका थिए । संवैधानिक इजलासका इजलास अधिकृतले पानी खुवाएर उठाएका थिए । विवादकै व्रmममा ढलेपछि तत्काल अस्पताल लैजान न्यायाधीशले नै आग्रह गरेका थिए । सुरक्षाकर्मीले नै खरेललाई मुख्य रजिस्टारको कार्यकक्षमा पु¥याएर पानी चिया खुवाएपछि खरेल स्वयम्ले अस्पताल जान नपर्ने बताउनुभएको थियो । त्यसपछि खरेललाई वरिष्ठ अधिवक्ता भट्टराईले आफ्नै गाडीमा सँगै लिएर जानुभएको थियो ।
२०७७ पुस ५ गते भएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा खरेलले बहस गरेपछि धेरैको नजरमा पर्नुभएको थियो । इजलासमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले खरेलको बहसलाई लिखित रूपमा पनि पेस गर्न आग्रह गरेपछि उहाँबारे सार्वजनिक चर्चा भएको थियो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा सव्रिmय खरेल रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका लागि प्रतिस्पर्धामा समेत हुनुहुन्थ्यो ।