• १७ चैत २०८२, मङ्गलबार

सुनसरीका एसइई केन्द्राध्यक्षलाई प्रशिक्षण

blog

एसइई परीक्षा । फाइल तस्बिर ।

जयकृष्ण यादव 

इनरुवा, चैत १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्राध्यक्षलाई प्रशिक्षण दिने क्रममा परीक्षा समन्वय समितिले परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको हो । 

परीक्षामा परीक्षार्थीहरूलाई निर्वाद र निर्भिक रूपमा लेख्ने वतावरण दिनुपर्ने तर चिट चोर्न र चोराउन नपाउने गरी केन्द्राध्यक्षलाई प्रशिक्षण दिँदै परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरी प्रमुख देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 

मल्लका अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकले के गर्न हुने, के गर्न नहुने ? बारेमा प्रशिक्षण दिएको र सोही क्रममा परीक्षा मर्यादित बनाउन निर्देशन दिएको हो । केन्द्राध्यक्षहरूलाई तालिम, उतरपुस्तिका केन्द्रमा र प्रश्न पत्र सम्बन्धीत सुरक्षा एकाइमा पठाइएको जानकारी दिनुभयो । 

चैत १९ गतेबाट सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुनसरीबाट १३ हजार ९७८ जना परीक्षार्थी सहभागी हुँदैछ । जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र सात हजार ४३ जना र छात्रा ६ हजार ९३५ जना गरी १३ हजार ९७८ जना विद्यार्थी सहभागी हुने भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सुनसरीले जनाएको छ । 

परीक्षार्थीका लागि जिल्लाभर ५० वटा परीक्षा केन्द्र तोकिएको समन्वय एकाइ प्रमुख देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार सुनसरीबाट गत वर्ष छात्र सात हजार १४ जना र छात्रा ६ हजार ४९ जना गरी कुल १३ हजार ६६३ जना एसइई परीक्षामा सहभागी भएकोमा यसवर्ष गत वर्षको परीक्षामा भन्दा ३२४ जना परीक्षार्थी बढीले परीक्षा दिने छ ।

एसइई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३२१ विद्यालयका परीक्षार्थी सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल ११७ सामुदायिक विद्यालय छन भने संस्थागततर्फ कुल २०४ विद्यालय रहेका छन् । 

सुनसरीको धरानमा १०, इटहरीमा ११, इनरुवामा ६, कोशी गाँउपालिकामा २, दुहवी नगरपालिकामा ३, देवानगन्ज गाउपालिकामा १, वराहक्षेत्र नगरपालिकामा ७, बर्जु गाउपालिकामा ३, भोक्राह नरसिंह गाउँपालिकामा १, रामधुनी नगरपालिकामा ३ र हरिनगर गाउँपालिकामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्रहरूमा जनशक्तिका रूपमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६८० निरीक्षक, १ सय ३५ परीक्षा सहायक, २७१ कार्यालय सहयोगी खटिने परीक्षा समितिले जनाएको छ । 

परीक्षा व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी भएको छ । परीक्षा केन्द्र निर्धारण भएको विद्यालयकै प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्ष तोकी तालिम दिएको एकाइ प्रमुख मल्लले जानकारी दिनुभयो ।