• २० असार २०८२, शुक्रबार

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

blog

काठमाडौँ, असार २० गते । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ । सङ्घीय संसद्को समितिमा विद्यालय शिक्षा विधेयकका विषयमा छलफल भइरहेका बेला शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न नेविसङ्घले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो । 

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरेर शिक्षक छनोट प्रक्रियालाई योग्यताको आधारमा सतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न माग गर्नुभएको हो । नेविसङ्घले शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धिलगायत विषयमा ध्यानाकर्षण गराएको हो । अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’ जस्ता राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाले रासससँगको संवादमा बताउनुभयो ।

नेविसङ्घले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारसँग माग गरेको छ । विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र जारी गर्नेगरी सरकारले शिक्षक महासङ्घसहित सरोकार भएकासँग लिखित सहमति गरे पनि कार्यान्वयन भएको छैन । रासस