• २१ असार २०८२, शनिबार

महालक्ष्मी मन्दिरका लागि ३४ किलो चाँदी प्रदान

blog

ललितपुर, असार २० गते। ललितपुर महानगरपालिकाले महालक्ष्मीथानस्थित ऐतिहासिक महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्नका लागि ३४ किलो ३०० ग्राम चाँदी प्रदान गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत महानगरले महालक्ष्मीथान व्यवस्थापन समितिलाई उक्त चाँदी हस्तान्तरण गरेको हो। समितिले मन्दिरमा रहेका पित्तलका अलङ्कारहरूलाई प्रतिस्थापन गरी चाँदीका अलङ्कार निर्माण गर्ने तयारी गरेको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले जीटुजी प्रणालीमार्फत राष्ट्र बैंकसँग चाँदी खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहीबारको बजार मूल्यअनुसार प्रतितोला २,१७० रुपैयाँ दरले २९४१ तोला चाँदी खरिद गरिएको हो। सोही आधारमा चाँदीको कुल मूल्य ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबर पर्न गएको हो।

प्रमुख महर्जनले महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्ने अभियानमा साथ दिन पाउँदा महानगर गौरवान्वित भएको बताउनुभयो। उहाँले नगद सहयोगको साटोमा प्रत्यक्ष रूपमा चाँदी नै उपलब्ध गराउनु उपयुक्त हुने ठहर गर्दै सहयोग गरिएको जानकारी दिनुभयो।

चाँदी अलङ्कार निर्माणको कार्य छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “काममा कसैले आलोचना नगर्ने गरी पारदर्शितापूर्वक अगाडि बढ्नूस्। चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्नूस्।”

त्यस्तै उहाँले सम्पूर्ण प्रक्रिया पारदर्शी राख्न आग्रह गर्नुभयो। “जे काम गर्नुहुन्छ, त्यसमा पूर्ण पारदर्शिता अपनाउनूस् ताकि कसैले औंला उठाउन नपरोस्,” उहाँको भनाइ थियो।

महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दासले ललितपुर महानगरले सम्पदा संरक्षण र सांस्कृतिक प्रवर्द्धनमा उदाहरणीय कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले गरेका कामहरू हेरेर अन्य पालिकाका प्रतिनिधिहरू पनि सिक्न आउनुहुन्छ। यसले हामीलाई थप उत्साह मिलेको छ।”

प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरका लागि सहयोग गर्न पाउनु महानगरका लागि गौरवको विषय भएको बताउनुभयो।

महानगर वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले भक्तजनबाट एकदेखि डेढ करोड रुपैयाँसम्मको चाँदी सहयोग संकलन भइसकेको जानकारी दिनुभयो। उहाँले त्यस कार्यमा महानगरले पनि साथ दिएकोमा आभार प्रकट गर्नुभयो।

चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिकानाथ खनालले विभिन्न उद्योग व्यवसायी, संघसंस्था र भक्तजनहरूबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। उहाँले सम्पूर्ण प्रक्रिया पारदर्शितापूर्ण हुने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि अपारदर्शिता नहुने स्पष्ट पार्नुभयो।

ज्यापू समाजका अध्यक्ष तथा समितिका सल्लाहकार सन्तमान महर्जनले मन्दिर विगतको तुलनामा अहिले धेरै व्यवस्थित हुँदै गएको उल्लेख गर्दै सो उपलब्धिमा सबैको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।

उहाँले मन्दिरलाई अझ सुन्दर बनाउन चाँदीको अलङ्कार राख्न लागिएको र त्यसका लागि समाजबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।