चौतारा समाचारदाता
चौतारा, असार २० गते । नेपाल र चीनको मुख्य सीमा तातोपानी नाका हुँदै पहिलो पटक हेलिकोप्टर नेपाल आयात भएको छ । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको फ्रान्सेली कम्पनी एयर बसद्वारा उत्पादित हेलिकोप्टर चीनको ‘तिया जिन’ सहर हुँदै कन्टेनरमार्फत ल्याई तातोपानी भन्सारको सुक्खा बन्दरगाहमा ओरालिएको हो ।
भूकम्पपछि चीनबाट विभिन्न सामान ढुवानी गर्दै आएको ‘आडो ट्रान्सपोर्ट’ कम्पनीले उक्त हेलिकोप्टरलाई ४० फुटे ट्रेलरमा राखेर तातोपानी नाका ल्याएको हो । हेलिकोप्टरको पङ्खा खोलेर ल्याइएको थियो ।
अहिले भन्सार जाँचसँगै पङ्खाको पुनः जडानको काम भइरहेको छ । माउन्टेन हेलिकोप्टर प्रालिले त्यस्ता पाँच वटा हेलिकोप्टर खरिद
गरेको जनाएको छ । सबै हेलिकोप्टर तातोपानी नाकामार्फत काठमाडौँ ल्याइँदै छ ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालका अनुसार भन्सारमा अहिले हेलिकोप्टरको कागजात, लागत मूल्य, नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त अनुमतिलगायतका विवरणको जाँच भइरहेको छ । उहाँले हेलिकोप्टरका लागि एक प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जनाउनुभयो ।
यस आधारमा करिब चार करोड १२ लाख रुपियाँभन्दा बढी राजस्व लाग्ने तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले जानकारी दिनुभयो ।
भन्सार जाँचपछि प्राविधिक टोलीले हेलिकोप्टरको अवस्था परीक्षण गरी तातोपानीबाट उडाएरै काठमाडौँ लगिने आयातकर्ताले जनाएको छ ।
हालसम्म लत्ताकपडा, फलफूल, तरकारी, विद्युतीय सामान, विद्युतीय सवारीसाधन मात्र आयात हुने यस नाकाबाट हेलिकोप्टरलगायतका प्राविधिक र उच्च मूल्यका सामग्री पनि भित्रिएको छ ।