• २० असार २०८२, शुक्रबार

वैदेशिक रोजगारीको पीडा : ३७ जना बाकसमा फर्किए

blog

शव ल्याइएको बाकस । फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, असार २० गते ।
मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले बताउनुभयो ।

व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिनुभयो ।

यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका घटना १२०, जेलसम्बन्धी चार, स्वास्थ्य उपचार/पारिवारिक स्वास्थ्य उपचार २३, उद्धार  २२, अन्य छ वटा दर्ता हुन आएकोमा १०८ वटा समाधान गरिएको र सात करोड २२ लाख नौ हजार २५७ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवा जनशक्ति विदेशिने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तनावमा र अत्यधिक काम गर्नेलगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रका परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ ।

मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटनालगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । केन्द्रले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको थियो । सञ्चारकर्मीहरुले बैदेशिक समस्यालाई प्राथमिकता दिएर कलम चलाइदिएकोले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने संयोजक रानाको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । यस कार्यक्रमले समस्यमा पर्न नदिन र परिसकेकालाई उद्धारका लागि प्रभावकारी ढङ्गबाट काम गरेकाले पीडितलाई राहत दिलाउन सजिलो भएको न्यौपानेको भनाइ थियो ।