शेरबहादुर सार्की
बाजुरा, असार २० गते । बाजुरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका महिलालाई पुरस्कृत गरिएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले गाउँमा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रका पिसिसी बाटो निर्माणको काममा राम्रो गर्ने महिलालाई पुरस्कृतसहित सम्मान गरिएको हो ।
खप्तड छेडेदह गाउँपालिका वडा –३ टुनीसैनका महिलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पिसिसी बाटो निर्माणमा उत्कृष्ट काम गर्ने महिलालाई दश हजार नगद पुरस्कृतसहित सम्मानपत्र हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँमा हुने गरेको कुनै पनि विकास निर्माणको काममा पहिला महिलालाई प्राथमिकता दिने गरेको थिएन । अहिले पालिकाले त्यो काममा हामीलाई पनि प्राथमिकता दिने गरेको खप्तड छेडेदह गाउँपालिका –३ टुनीसैनका स्थानीय महिला जानकी खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुरुषले झैँ गर्ने काम महिलाले पनि गर्न सकिदो रहेछ भन्ने कुराको उदाहरण दिनेगरी सबै महिला दिदीबहिनीले राम्रो काम गरेपछि अहिले हामीलाई पालिकाले पुरस्कृतसहित सम्मान गरेको हो । ”
आफ्नै काम हातमा दाम त्योभन्दा बढी सम्मान पाउँदा आफूलाई गाउँमा हुने विकास निर्माणको काममा थप उत्प्रेरण मिलेको खड्काले बताउनुभयो ।
प्रधानमन्त्री स्वोरोजगार कार्यक्रममा प्रायः महिलालाई बढी प्राथमकिता दिने गरेका छौ । महिलाले पनि पुरुषसहर राम्रो काम गरेकाले यतिबेला पहिलो पटक गाउँपालिकाले राम्रो काम गर्ने ती महिलालाई पुरस्कृत गरेको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बीसु नाथले बताउनुभयो ।
आर्थिक वर्ष २०८१–८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नारालाई आत्मसाथ गर्दै ३८ वटा योजनामध्ये उत्कृष्ट ३ योजनामा महिला सहभागी थिए ।
पालिकाले गरेको अनुगमनमा महिला सहभागिता भएको ठेग्गाउँदेखि टुनिसैनसम्मको पिसिसी बाटो निर्माणको काम अन्यभन्दा उत्तम भएकाले त्यो काम गर्ने यहाँका महिलालाई पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष नाथले बताउनुभयो ।