• २० असार २०८२, शुक्रबार

बाँकेमा ४४ प्रतिशत रोपाइँ

blog

बाँकेको राप्तीसोनारीमा रोपाइँ गर्दै किसान। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २० गते। बाँके जिल्लामा ४४ प्रतिशत रोपाइँ भएको छ। पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा केही दिन निरन्तर वर्षा भएपछि हालसम्म ४४.६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले जानकारी दिनुभयो। 

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १५ गते धान दिवस मनाउँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले रोपाइँ सुरु गर्न पाएका थिएनन्। 

पानी अभावले ढिलै सुरु भए पनि जिल्लामा धान उत्पादन हुने सबै ठाउँमा रोपाइँ तीव्र गतिमा भइरहेकोले यस वर्ष उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत बस्नेतको भनाइ छ। 

उहाँले सिक्टा सिँचाइ आयोजनाका कारण राप्ती सोनारी, कोहलपुर र बैजनाथमा रोपाइँ सबैभन्दा बढी भएको बताउनुभयो। सबैभन्दा कम रोपाइँ जानकी गाउँपालिकामा भएको पाइएको छ। 

कृषि ज्ञान केन्द्र बाँकेले यस वर्ष ढिला गरेर रोपाइँ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ। 

बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा छ। गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो। अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ।