• २१ असार २०८२, शनिबार

फरक क्षमताका नागरिकलाई सहायता

blog

सहायता सामग्री वितरण गरिदै । तस्बिरः इमानसिं राना

इमानसिं राना 

रामपुर (पाल्पा), असार २० गते । रामपुर नगरपालिकाले फरक क्षमता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराएको छ । नगरभित्रका ५९ जना फरक क्षमताका नागरिकलाई अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा सामग्री प्रदान गरेको हो । 

फरक क्षमताका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न आवश्यकताको आधारमा विभिन्न सहायता सामग्री वितरण गरिएको हो । फरक क्षमता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर पाँच वटा, इयरफोन तीन वटा, बैशाखी १० सेट, लौरी ३४ वटा र चस्मा सात वटा उपलब्ध गराएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कंडेलले जानकारी दिनुभयो । 

नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन भएको दुई लाख रकमबाट सामग्री प्रदान गरिएको कंडेलले बताउनुभयो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले सामग्री प्रदान गर्नुहुँदै अपाङ्गता भएका नागरिकको संरक्षण र जीवनयापनलाई थप सहज बनाउन नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

फरक क्षमता भएका नागरिकमा पनि विशिष्ट किसिमको सिप एवं प्रतिभा रहेको बताउँदै क्षमता अनुसारको सिपमुलक तालिम समेत सञ्चालन गरिने बताउनुभयो । फरक क्षमताका नागरिकसँगै आफन्तजनको उपस्थितिमा नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापाले सामग्री हस्तान्तरण गर्नुभयो ।