• २१ असार २०८२, शनिबार

कर्णाली सरकारको बजेट सर्वसम्मत पारित

blog

कर्णाली प्रदेश सभा बैठक ।

मुना हमाल

सुर्खेत, असार २० गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ । शुक्रबार प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं विशेष प्रस्तावसहित बैठकबाट बजेट पारित भएको हो ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनामा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेश सभामा विशेष प्रस्ताव पेस गर्नुभएको थियो । 

आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको  सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो  । 

अर्थमन्त्री शाहले असार १ गते कर्णाली प्रदेशको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । सरकारले कुल विनियोजनमध्ये चालूतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कुल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् कुल विनियोजनको १.८६ प्रतिशत बजेट छुट्याइएको छ । 

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार रुपियाँ, चालू आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपियाँ र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने १० अर्ब २७ करोड ३० लाख रुपियाँ स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।