राममणि दाहाल
मकवानपुर, असार २० गते । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ रातमाटेस्थित खण्डमा विद्युतीय गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नं.को विद्युतीय गाडी शुक्रवार दिउँसो घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीमा चालकसहित १० जना सवारमध्ये दुर्घटनामा परी दुई जना सामान्य र तीन जना गम्भीर रूपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी पर्सा जिराभवानी गापा ३ बस्ने वर्ष ३५ का चन्द्र सन्जु गौरे, भारतको विहार बस्ने वर्ष ३९ को रिसाहद कुमार, सोही स्थानका वर्ष ३५ का उमा शङ्कर कुमार, वर्ष २७ का जताशंकर कुमार र वर्ष ५० का राकेश कुमार रहेका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारको लागि काठमाडौँ पठाइएको र गाडी चालक बारा परवानीपुर गाउँपालिका २ बस्ने वर्ष २२ को राजाराम साह प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । उक्त सवारी साधन तीव्र गतिका कारण दुर्घटना भएको यात्रुहरूलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।