• २० असार २०८२, शुक्रबार

पाकिस्तानमा भवन भत्किँदा छ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशङ्का

blog

कराँची, असार २० गते । पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । यो घटना स्थानीय समयअनुसार बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको थियो । लियारी इलाका कुनै समय सामूहिक हिंसाबाट ग्रस्त थियो भने यो पाकिस्तानको अत्यधिक जोखिमयुक्त क्षेत्रमध्ये एक मानिन्छ ।

उक्त भवनका ३० वर्षीय शङ्कर काम्होका अनुसार भवनमा करिब २० परिवार बस्दै आएका थिए । उहाँले एएफपीसँग भन्नुभयो, “मलाई भवन भत्किन लागेकोे खबर मेरी श्रीमतीको फोनबाट जानकारी भयो । मैले उनलाई तत्काल बाहिर निस्कन भने ।” उहाँले भन्नुभयो, घटनाबारे उनले छिमेकीलाई सुनाउँदा भवन बलियो रहेको भनेपछि उनी छोरीलाई लिएर सुरक्षित स्थानमा गएको तर त्यसको लगभग २० मिनेटपछि उक्त भवन पूर्णरूपमा भत्किएको थियो ।”

स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी आरिफ अजिजले एएफपीसँग कुरा गर्दै छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताउनुभयो । भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका थिए । उद्धार कार्यमा संलग्न इधी वेलफेयर फाउन्डेसनका साद इधीले एएफपीसँग भन्नुभयो, “कम्तीमा पनि आठदेखि १० जना अझै फसेका हुन सक्छन् ।”

उहाँले मृत्यु हुनेको सङ्ख्या छ पुगेको पनि पुष्टि गर्नुभयो । कम्तीमा पाँच वटा स्काभेटरसहित आसपासका बासिन्दाहरूले उद्धारमा सघाएका थिए । सन् २०२० को जुनमहिनामा शहरको सोही क्षेत्रमा करिब ४० वटा अपार्टमेन्ट रहेको आवासीय भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र कमजोर निर्माण सामग्रीका कारण छाना र भवन भत्किँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस/एएफपी