अर्जुन काफ्ले
स्याङ्जा, असार २० गते । कालीगण्डकी गाउँपालिकाले आफ्ना पालिकाभित्रका सबै घधुरीको विद्युत् महसुल अग्रिम भुक्तानी गरेको छ । पालिकाले छ वर्षदेखि उज्यालो कालीगण्डकी गाउँपालिका निर्माण गर्ने अभियान अन्तर्गत न्यूनतम महसुल अग्रिम भुक्तानी गर्ने गरेको हो । गाउँपालिकाले पालिकाभित्र रहेका चार हजर ७८० घरधुरीको छ महिनाको आठ लाख ६० हजार चारसय रुपियाँ अग्रिम भुक्तानी गरेको हो ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले २०८२ साल साउनदेखि पुस मसान्तसम्मको न्यूनतम २० युनिट विद्युतकाे छ महिनाको रकम गाउँपालिकाले तिरेको बताउनुभयो ।
न्यूनतम विद्युत् महसुल बुझाउन नसक्ने स्थानीयको लागि फलदायी भएको बताउदै थापाले सोभन्दा बढी विद्युत् खपत गर्नेले भने बाँकी आफैं तिर्नुपर्ने बताउनुभयो ।
पालिकावासीको न्यूनतम रकम वार्षिक ३६० रुपियाँ गाउँपालिकाले तिरिदिँदा ३५ प्रतिशत नागरिकले निःशुल्क विद्युत् सेवा पाएको थापाले बताउनुभयो । पहिलो पटक निर्वाचनको समयमा जनतासँग उज्यालो पालिका बनाउने गरेको वाचा पूरा गर्न यो अभियानलाई निरन्तरता दिँदैआएको उहाँको भनाइ छ ।
पालिकाले एक घरको २० युनिटको महिनाको ३० रुपियाँको दरले ६ महिनाको १८० रुपियाँ ग्राहकको विद्युत् प्राधिकरणको बिलिङ सिस्टमको एकाउण्टमा अग्रिम रुपमा दाखिला गरेको प्रमुख प्रशासकीय अधिकृत परशुराम शर्माले बताउनुभयो ।
पालिकाले पुसदेखि असारसम्मको महसुल आगामी पुसमा अग्रिम भुक्तानी गर्ने शर्माले बताउनुभयो । उज्यालो कालीगण्डकी अन्तर्गतको यो अभियानले यहाँ बस्ने २१ हजार ७२८ स्थानीय प्रत्यक्ष लाभान्वित भएका हुन् । कालीगण्डकी गाउँपालिका विजुलीका ग्राहकको रकम अग्रिम दाखिला गरिदिने देशकै एक्लो र पहिलो पालिका हाे ।
गाउँपालिकाले स्थानीय सरकारको पालिकाभित्र बसोवास गर्ने स्थानीयलाई एक लाख बराबरको निःशुल्क बिमा दुई वर्षदेखि गर्दैआएको छ ।