हरिप्रसाद कोइराला
उर्लाबारी, असार २० गते । मोरङको उर्लाबारीमा टर्मिनल भवनसहितको बसपार्क निर्माण हुने भएको छ । यसअघि २०७१ सालमा निर्माण सुरु भएको बसपार्क ११ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि नयाँ आयोजना सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो ।
उहाँका अनुसार बिहीबार नगरपालिकामा निर्माण कम्पनी अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि हेटौंडासँग ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपियाँमा निर्माण सम्झौता भएको छ । सम्झौता भएअनुसार यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
नगरको वडा नम्बर ६ स्थित एक बिघा १३ कठ्ठा जग्गामा बसपार्क निर्माण हुनेछ । नगर विकास कोषको ६० प्रतिशत ऋण, नगरपालिकाको ३० प्रतिशत लगानी र नगर विकास कोषको १० प्रतिशत अनुदान सहयोगका बसपार्क बन्न लागेको नगर प्रमुख खरेलको भनाइ छ । स्रोत सुनिश्चित भएकाले १८ महिनाभित्र सुविधासम्पन्न बसपार्क बन्ने उहाँले बताउनुभयो ।
झण्डै ८० हजार जनसङ्ख्या भएको उर्लाबारीबाट सहायक मार्गमा चल्ने तथा पूर्व–पश्चिम ‘एसियन हाइवे’ रूटका सवारीसाधनलाई व्यवस्थापन गर्न बसपार्क आवश्यक थियो । नगरको सौन्दर्यीकरणका लागि पनि बसपार्क अनिवार्य भइसकेको नगरप्रमुख गङ्गाप्रसाद खरेलको भनाइ छ । नगरप्रमुख खरेलले यस आयोजनालाई नगरको गौरवको आयोजनाका रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।
स्थानीयले एक बिघाा १३ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि २०७१ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो । तर राज्य पुनर्संरचना भएपछि बजेट निकासा रोकियो । बहुवर्षीय आयोजनाका रुपमा निर्माण भइरहेको बसपार्कका लागि २०७६–७७ मा ५० लाख रुपियाँ आए यता कुनै बजेट आएन । त्यसपछि बसपार्कमा निर्माण भएका संरचनाहरू भत्किन थाले ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा, नगर र प्रदेशले पहल गरे पनि कुनै निकायले थप बजेट नपठाएकाले बसपार्क निर्माण हुन सकेको थिएन । वडा ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो, “तत्कालीन सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपालसिंह जिमीको सहयोगमा प्रदेश र सङ्घीय कार्यालय पुग्यौं । बजेट छैन भन्ने जवाफ आयो । त्यसपछि बसपार्क निर्माण कार्य रोकिएको थियो ।
नयाँ ठेक्कामा टर्मिनल भवनसहित बसपार्कको रनवे, सपोर्टवाल, ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने पहुँचमार्ग कालोपत्रे, स्थानीय र लामो दूरीका बसको बिसौनीलगायतका काम हुनेछन् । शौचालय र प्रतीक्षालय सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन् ।