• २० असार २०८२, शुक्रबार

लालपुर्जा वितरण गर्ने तयारी

blog

बैजनाथमा जग्गा नापजाँच गरिँदै । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार २० गते । बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लाका आठ वटा पालिकामा ५३ हजार ७०५ जना भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेकाले उनीहरू सबैलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको हो ।

उहाँले ५३ हजार ७०५ जनामध्ये ४३ हजार २२६ परिवार अव्यवस्थित बसोबासी, छ हजार ७९८ परिवार भूमिहीन सुकुमवासी र तीन हजार ६८१ परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । 

सो क्रममा कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणको काम एक चरणमा गरिसकिएको र दोस्रो चरणको वितरणका लागि तयारी भइरहेको भूमि आयोग बाँकेले जनाएको छ ।   

जिल्लाका सबै पालिकामा जग्गा नापजाँचको काम चलिरहेको जनाउँदै आयोगका बाँके अध्यक्ष खनालले आगामी केही दिनभित्रै विभिन्न पालिकाका केही वडामा लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताउनुभयो । 

बाँकेको बैजनाथ गाउँपालिकामा मात्रै १० हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने भएको छ । सो गाउँपालिकामा धेरैले जोतभोग गरे पनि जग्गा नपाएको देखिएकोले उनीहरू सबैलाई जग्गाको लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने प्रक्रिया तीव्र पारिएको भूमि आयोग बाँकेले जनाएको छ । 

आयोगका अध्यक्ष घननाथ खनालका अनुसार बैजनाथ गाउँपालिकाभरि १० हजार ११२ परिवार भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेको देखिएकोले ती सबैलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाइने छ । तीमध्ये सात हजार ५७४ परिवार अव्यवस्थित बसोबासी, एक हजार ६०८ परिवार भूमिहीन सुकुमवासी र ९३० परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको भूमि आयोग बाँकेले जनाएको छ । 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले लालपुर्जा वितरणका लागि गाउँपालिका–७, पेडारीबाट जग्गा नापजाँच सुरु गरिएको जनाउँदै छिटै सबैलाई लालपुर्जा वितरण गर्ने गरी आयोगले काम अघि बढाएको बताउनुभयो । बैजनाथ–७ का वडाध्यक्ष दिनेशकुमार चौधरीले लालपुर्जा वितरणका लागि जग्गा नापजाँच सुरु भएपछि स्थानीय भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी उत्साहित देखिएको बताउनुभयो । 

उहाँले लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराउन वडाभित्रका सबै दलका प्रतिनिधिको सहयोग आवश्यक रहेको बताउनुभयो ।