• २० असार २०८२, शुक्रबार

सप्तरीमा पाँच प्रतिशत मात्र रोपाइँ, किसानलाई धान रोप्न सकस

blog

धान रोपाइँ गर्दै किसान । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असार २० गते ।
राजविराज नगरपालिका– १ का ५२ वर्षीया उम्दा देवी खंगको दुई बिघा खेतीयोग्य जमिन असारको तेस्रो सातासम्म बाँझो छ ।

उहाँले अहिलेसम्म पानी नपरेकाले रोपाइँ हुन नसकेको गुनासो गर्नुभयो । पानी नपरेकै कारणले गाउँका अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘खेतमा एक थोपा पानी छैन । कसरी धान रोप्ने ? आकाशे पानीको भरमा हामी बस्नुपर्ने बाध्यता छ ।’’

हालसम्म पनि पर्याप्त पानी नपर्दा सिँचाइको सुविधा भएको बाहेकका खेतीयोग्य जमिनमा रोपाइँ हुन नसक्दा सप्तरीका किसानहरू चिन्तित भएका छन् । जेठ अन्तिम सातादेखि असार अन्तिमसम्ममा जिल्लामा रोपाइँ सक्नुपर्नेमा अहिलेसम्म अधिकांश खेतमा रोपाइँ सुरू हुन नसकेको जमुनी मधेपुरा ३ का ५५ वर्षीय रामप्रसाद यादवले बताउनुभयो ।

अहिलेसम्म जिल्लामा पाँच प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । यसपालि समयमा पानी नपरकाले गत वर्षको तुलनामा रोपाइँ र उत्पादन कम हुने सम्भावना बढेको केन्द्रका निमित प्रमुख किसुनदेव राउतले बताउनुभयो ।
सप्तरीका किसानलाई असारे धानको खेती गर्न दिन प्रतिदिन सकस हुँदै गएको छ । पानीको समस्या महँगो खेती र उत्पादन घट्दै गएपछि धानको खेती गर्न सकस हुँदै आएको स्थानीय किसानहरू बताउँछन् ।

उहाँले भन्नुभयो, ‘‘खर्च धेरै लाग्छ । आफ्नो खेतीयोग्य जमिन छैन । खर्चसहित आफ्नो परिश्रम जोड्ने हो भने जग्गाधनीलाई आधा दिएर घाटै लागे पनि आफूले उत्पादन गरेको अन्न खान पाइन्छ भनेर खेती गर्दै आएकी हुँ । हामी जस्ता विपन्न किसानलाई खेती गर्न सकस छ ।’’

तराईमा अधिकांश खेतीयोग्य जग्गा अधियाँमा लगाएर गरिब विपन्नमार्फत जग्गाधनीले खेती गराउँदै आएका छन् ।

जिल्लामा कुल कृषियोग्य जग्गा ८१ हजार हेक्टर  छ । जसमध्ये ६८ हजार हेक्टर जग्गामा खेती भइरहेको छ । जसमध्ये २३ हजार ८ सय अर्थात ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ छ ।