चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार २० गते । बलेफी गाउँपालिका-५ नम्बर वडालाई शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालबालिकामा गरेको लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
विद्यालय उमेरका सबै बालबालिका विद्यालय पुगेका, बालविवाह नभएको, बालश्रममुक्त, बालबालिकाले पूर्ण खोप पाएका, बालमैत्री पूर्वाधार पूरा भएका लगायतका ५१ वटा सूचक पूरा भएकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष यादव ठकुरीले जानकारी दिनुभयो ।
उक्त वडाले २०७९ पुस १६ गतेबाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने विभिन्न चरणको कार्य अगाडि बढाएको थियो । त्यसका लागि ५ वटा चरणको २८ वटा तहगत खुड्किलाको सघन रुपमा कार्यान्वयन गर्न लागिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
सो वडामा १८ बर्षमूनिका बालबालिकाका सङ्ख्या ८८६ रहेको वडाले जनाएको छ । पालिकाभर १२ वटा बालसमूह, बालसमूह सञ्जाल १ वटा, विभिन्न संरचनागत समितिहरुमा १० जना गरी २३९ जना बालबालिका सहभागी छन् ।
पूर्णखोप घोषणा, खुल्ला दिसामुक्त घोषणा, पूर्ण साक्षार घोषणा भई नेपाल सरकारको मापदण्डको आधारमा ५१ वटा सुचकहरुमा ३८ वटा सूचकहरु सय प्रतिशत र १३ वटा सूचकहरु अधिकतम ९५ देखि ९७ प्रतिशतसम्म नतिजा हासिल गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकोअध्यक्ष ठकुरीले बताउनुभएको छ ।
यसअघि चौतारा साँगाचोकगढी नगरपालिकाको १३ वडा नम्बर वडा दुई वर्ष अगाडि पहिलो बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको थियो । साथै केही समय अघि सो नगरको ७ नम्बर वडा र मेलम्ची नगरपालिका–७ दुवाचौर बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।