बाबुराम कार्की
वराहक्षेत्र, असार २१ गते । लुगा सिलाएर लगाउनेहरूको जमात घट्दै जाँदा लुगा सिलाइको काम गरेर गुजारा गर्नेहरूको पेसा सङ्कटमा पर्दैगएको छ । बजारमा आउने तयारी लुगा लगाउने प्रचलन बढ्दै गएपछि गाउँमै लुगा सिलाएर जीविका चलाउँदै आएकाहरूकोे ग्राहक घट्दै जाँदा पुर्ख्याैली पेसा खस्कदै गएको बताइएको छ ।
सुनसरीको उत्तरी ग्रामीणक्षेत्र राजाबासमा बसोवास गर्ने ५९ वर्षीय खड्ग दर्जी तीन दशकदेखि कपडा सिलाएर जीविका चलाउँदै आउनुभएको छ । गार्मी, जाडो सबै मौसमका लागि रेडिमेट कपडा बजारमा उपलब्ध हुँदा कपडा सिलाएर लाउनेहरूको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।
‘लुगा सिलाएरै घर खर्चदेखि केटाकेटी पढाउनसम्म सबै खर्च धानिन्थ्यो । अहिले ग्राहक कम आउने हुँदा कमाइ पहिलेजस्तो छैन’ उहाँले भन्नुभयो । खड्ग दर्जी लुगा सिलाउने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, उहाँजस्ता गाउँमा धेरै दर्जी टेलर्सहरूको कमाइ घटदै गएको छ ।
चाडपर्व, मेलापर्व नजिकिँदा कपडा किनेर नाप अनुसारको लुगा सिलाउन दिने मानिसको भिड हुन्थ्यो । गर्मी याम, जाडो यामका लुगादेखि विशेष अवसर, घरमा बस्दा लगाउने सामान्य लुगासम्म कपडा किनेर नाप दिएर सिलाउने प्रचलन थियो । चाडबाड, बिहे, ब्रतबन्धजस्ता शुभ कार्यमा लुगा सिलाउनेलाई भ्याइनभ्याइ हुन्थ्यो ।
बजारमा ग्राहकले भनेजस्तो, खोजेजस्तो लुगा तयारी अवस्थामा पाउन थालेसँगै लुगा सिलाएर जीविका गर्नेहरूले काम पाउन छाडेका छन् । अधिकांश मानिसहरू कपडा किनेर टेलरमा सिलाउन दिने चलन थियो । पुरुषका दौरा, सुरुवाल, सर्ट पाइन्ट, हाफपेन्ट, महिलाका म्याक्सी, जामा, कुर्ता, सुरुवाल, ट्राउजर, चोलो, साया लगायतका लुगाहरू सिलाएरै लगाउने चलन थियो ।
पहिला गाउँघरमा लुगा सिलाउन भ्याइनभ्याइ हुन्थ्यो । ज्याला र बालीका दुबै ग्राहक हुन्थे । अहिले बालीमा लुगा सिलाउने चलन त पूरै हटिसकेको छ, ज्याला दिएर सिलाउने पनि कम आउन थालेका प्रकाशपुरका काजिमान परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनको जवानी समय लुगा सिलाएरै बित्यो । अब पहिलाजस्तो लुगा सिलाउने आउँदैनन् । घरका सदस्यले पनि त्यही रेडिमेड लुगा नै रोज्छन् ।’
समयसँगै प्रविधिको विकास हुँदा कम्पनीहरूले नै तयारी पोसाक बनाउँदा थानका कपडा सिलाएर लाउनेहरू पनि रेडिमेट कपडा लगाउन थालेपछि सिलाएर लगाउनेहरूको सङ्ख्या घट्दैगएको छ । प्रायः सबैले तयारी कपडा नै लगाउने हुँदा थानका कपडा सिलाएर लगाउनेहरू घट्दैगएका छन् । जसलेगर्दा लुगा सिलाउनेको रोजगारी पनि घट्दैगएको छ ।
सबैभन्दा बढी लुगा सिलाएर लाउने विद्यालयका विद्यार्थीको पोसाक समेत रेडिमेट टिसट, ट्राउजर आउन थालिएपछि लुगा सिलाउनेको सङ्ख्या थप घट्दै गएको हो । नयाँ फेसनका कपडा गाउँ–गाउँमा आउन थालेपछि फेसनको रेडिमेट कपडा लगाउने जमात गाउँमा बढ्दा नेपाली रुपियाँ समेत बहिरिने गरेको छ ।