• २१ असार २०८२, शनिबार

किसानलाई कृषि उपकरण वितरण

blog

कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गरिँदै ।

गुणबहादुर रोका 

सुलीकोट, असार २१ गते । गोरखा नगरपालिका–२ का किसानलाई ४० प्रतिशत अनुदानमा कृषि उपकरण हाते ट्याक्टर र चापकटर प्रदान गरिएको छ । स्थानीय किसानलाई रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्धन गरी किसानको आयस्तर बृद्धि गराउन शनिबार गोरखा नगरपालिका–२ ले ४० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । 

गोरखा नगरपालिका–२ का ९ जना किसानलाई ९ वटा हाते टयाक्टर, एक कम्बाइन मिल, ५० वटा मौरीको घार, बङ्गुरको पाठा ९ वटा र प्लास्टिकको टनेलसहित ५५ जना किसानलाई कृषि उपकरण वितरण गरिएको वडा २ का अध्यक्ष रहमतुल मियाँले जानकारी दिनुभयो । 

कृषि पेसालाई आधुनिकीकरण तथा व्यवस्थित गर्न उत्पादन बढाउन वडा २ ले चालु आर्थिक वर्ष २०८०–८१ को बजेटबाट कृषि सामग्री अनुदान कार्यक्रम अन्तर्गत किसानलाई आठ लाख रुपियाँको कृषि उपकरण सहयोग गरिएको अध्यक्ष मियाँले बताउनुभयो । 

स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उपकरण वितरण गरिएको गोरखा नगरपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताउनुभयो । किसानलाई कृषि उपकरणको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले कृषि कार्यक्रम अन्तर्गत किसानको साझेदारीमा आठ लाख रुपियाँ बराबरको सामान हस्तान्तरण गरिएको हो । कृषि उपकरणले स्थानीय रूपमा उत्पादन बढाउन नगरपालिकामा कृषिमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ । ५५ जना किसानलाई गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमायाँ थोकरले संयुक्त रूपमा कृषि उपकरण वितरण गर्नुभयो ।