गोरखापत्र अनलाइन
टिकापुर, असार २१ गते । नौ बुँदे टिकापुर घोषणापत्र जारी गर्दै सुदूर युवा इको समिट सम्पन्न भएको छ । फोर एच नेपालले आयोजना गरेको समिट एक सय ५० जना युवाको सहभागितामा सम्पन्न भएको हो ।
टिकापुरमा सम्पन्न भएको इको समिटमा सुदूरपश्चिमका नौ जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी वसन्त बोहराले जानकारी दिनुभयो । समिटको स्थानीय साझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेको थियो ।
सुदूरपश्चिमका नौ जिल्लालाई जनाउनेगरी नौबुँदे टिकापुर घोषणापत्र जारी गरिएको छ। उक्त घोषणापत्रमा ५ बुँदे प्रतिबद्धता पनि समावेश गरिएको छ । घोषणापत्रमा सुदूरपश्चिम सरकारले स्थानीय भाषामा जलवायुकी कुरेणीजस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, ८८ वटै स्थानीय तह तथा सुदूरपश्चिम सरकारले जलवायुमैत्री नीति निर्माण गर्नु पर्ने, युवाको अगुवाईमा जलवायु संवादको थालनी गर्नुपर्ने उल्लेख छ ।
जलवायु परिवर्तनले सुदूरपश्चिम अरु प्रदेशभन्दा बढी प्रभावित र जोखिममा रहेकाले केन्द्रीय सरकारले पर्यावरण संरक्षण्का लागि विशेष नीति बनाई दिगो कार्यक्रम तय गर्नुपर्ने घोषणापत्रमा राखिएको छ । जलवायु परिवर्तनले उमेरको हिसावले अरुभन्दा बालबलिका र युवालाई दीर्घकालिन असर बढी पर्ने भएकाले बालबालिका तथा युवालाई जलवायु न्याय दिनुपर्ने माग गरिएको छ ।
फोर एच नेपालका केन्द्रीय सदस्य सनतकुमार रेग्मीका अनुसार टिकापुर घोषणापत्र सुदूरपश्चिमका लागि ८८ वटै पालिकालाई बुझाउने कार्यक्रम रहेको छ । उक्त घोषणापत्र सुदूरपश्चिम प्रदेश सरकार, सङ्घीय सरकार लगायतका निकायलाई हस्तान्तरण उहाँले बताउनुभयो ।