रचनात्मक, समाधानमुखी, जनमैत्री जे जस्ता शब्दले उच्चारण गरिए पनि ‘कन्स्ट्रक्टिभ जर्नालिजम’ बहसको एउटा विषय बन्न सक्छ । सामाजिक विज्ञानलगायत विभिन्न सङ्कायमा विभिन्न बहस, दृष्टिकोण, सिद्धान्त बन्दै जान्छन् । यिनै कारणले यस्ता सङ्काय धनी (रिच) पनि हुँदै जान्छन् ।
अहिले जेलाई पत्रकारिता भनिएको छ, त्यो नै विगतको पत्रकारिता थिएन । रोमन सेनाको गतिविधि सार्वजनिक गर्न अभ्यास गरिएको ‘एक्टा डिउर्ना’ उतिखेरको ‘पत्रकारिता’ हुन सक्छ तर सेनाको गतिविधि सार्वजनिक गर्नु मात्र अहिलेको पत्रकारिता हुन सक्दैन । समयको लामो शृङ्खलामा पत्रकारिताबारे प्राज्ञिक अध्ययन अध्यापन सुरु भएको छ । पत्रकारिताबारे विभिन्न दृष्टिकोण, विचार, मान्यता बनेका छन् । कतिपय सिद्धान्त बनेका छन् । पत्रकारिताले समयसँगै अथाह अनुभव बटुलेको छ । पत्रकारिता यसरी सम्पन्न (धनी) हुँदै छ । पत्रकारितालाई सम्पन्न बनाउन विभिन्न विद्वान्को योगदान छ ।
पत्रकारितामाथि राखिने विभिन्न विचार दृष्टिकोण जस्तै ‘रचनात्मक’ पत्रकारिता पनि हो तर विकास पत्रकारिता, आर्थिक पत्रकारिता, खेलकुद पत्रकारिता जस्तै रचनात्मक पत्रकारिता पनि हुँदैन । पत्रकारिता बस् एउटा मात्र हो, पत्रकारिता । बाँकी पत्रकारिताका विषय, शैली, बिट वा स्वरूप अथवा माध्यम हुन् । ‘रेडियो पत्रकारिता’ पनि हुनै सक्दैन । रेडियो माध्यम हो, त्यसबाट गरिने पत्रकारिताको स्वरूप मात्र भिन्न हुन सक्छ । ‘रचनात्मक’ रिपोर्टिङ पत्रकारिताको एउटा बिट विषय क्षेत्र मात्र हो । केही समयअघि गोरखापत्रको‘गर्दै सिक्दै’ अभियान अन्तर्गत गोरखापत्र संस्थान र प्रेस काउन्सिल नेपालकोे आयोजनामा रचनात्मक पत्रकारिताबारे जुन बहस भएको थियो त्यसलाई थप स्पष्ट पार्नु आवश्यक छ ।
‘रचनात्मक पत्रकारिता’ मा प्रवेश गर्नुअघि पत्रकारिता शिक्षा हो कि सिप/कला भन्ने बहस गरौँ । कि पत्रकारिता विज्ञान हो ? शिक्षा र सिपको मूलभूत भिन्नता एकै वाक्यमा भन्न सकिन्छ ‘शिक्षा सैद्धान्तिक हुन्छ जबकि सिप अभ्यासजन्य प्राक्टिकल हुन्छ ।’ ‘ध्यान ग-यो भने तनाव व्यवस्थापन गर्न सकिन्छ’ यो शिक्षा हो । यसमा सिद्धान्त छ । आग्रह÷मान्यता (भ्यालु) छ । जबकि बुद्धले जसरी बसेर (बस्ने, बोल्ने, सास फेर्ने तरिका छन्) ध्यान गर्नुु सिप÷कला हो । पत्रकारितालाई शिक्षा बनाउनु हुन्छ भने यसमा वाद, वाद अनुसारका दृष्टिकोण, मूल्य, मान्यता, आग्रह पस्छन् । यसलाई सिप बनाउनु हुन्छ भने व्यक्तिगत आग्रह, मूल्यमान्यता, आग्रहबाट मुक्त गर्दै एक स्वतन्त्र व्यावहारिक अभिव्यक्ति बनाउन सक्नुहुन्छ । शिक्षा कुनै आस्था, वाद, मूल्य, मान्यता, नौतिकतामा आधारित अर्थात् नर्मेटिम हुन्छ, जस्तैः ‘चोर्नु हुँदैन, पाप लाग्छ’ नैतिक शिक्षाले भन्छ । ‘चोर्नु हुँदैन, जेल परिन्छ’ कानुनी शिक्षाले भन्छ । पत्रकारिताले यस्ता मान्यता राख्ने कि नराख्ने ? राख्ने हो भने नैतिक शिक्षाबाट पत्रकारितालाई कसरी अलग गर्नु हुन्छ ? जब पत्रकारितालाई नैतिक शिक्षाबाट अलग गर्न सक्नुहुन्न तब पत्रकरिताको अस्तित्व वा औचत्य कहाँ बचाउन सक्नु हन्छ ? तसर्थ पत्रकारिताले चोर्नुहुन्छ हुँदैन भन्नुभन्दा पनि चोरीका घटना र परिणाम बताइदिने हो ।
पत्रकारितालार्ई प्रत्यक्षवाद (पोजिटिभिजम) को एक डिसिप्लिन (शाखा) बनाउन चाहनुहुन्छ भने यसमा व्यापक अध्ययन अनुसन्धान गरेर तथ्य प्राप्त गरी तथ्यलाई सामान्यकृत (जनरलाइजेसन) गरेर सामाजिक सिद्धान्तको निर्माण गर्न सकिन्छ । पत्रकारितालाई सिद्धान्तको प्रस्तुति वा विज्ञान बनाउनुहुन्छ भने सामाजिक विज्ञानका कथन (भाष्य) र पत्रकारिताका वर्णनलाई कसरी भिन्न गराउनुहुन्छ ?
पत्रकारिताता सामाजिक सिप, सामाजिक शिक्षा, सामाजिक अध्ययन र सामाजिक विज्ञानको समिश्रणबाट उत्पादित तर स्वतन्त्र अस्तित्व भएकाले पत्रकारिता यी सङ्कायबाट नजिक तर भिन्न हुनु पर्छ । जसरी झुसिलकिराबाट पुतली बन्छन् तर बनिसकेपछि पुतलीको छुट्टै अस्तित्व स्वीकार गरिन्छ र त झुसिलकिरा र पुतलीलाई एउटै हुन् भन्न पाइँदैन । पत्रकारितालाई सामाजिक सिप, सामाजिक शिक्षा, सामाजिक अध्ययन र सामाजिक विज्ञानको मिश्रण भन्नुका कारण छन् ।
पत्रकारिताभित्र समाचार, व्यक्तिगत विचार, संस्थागत विचार, सूचना, विज्ञापन, तस्बिर÷दृश्य जस्ता धेरै सामग्री हुन्छन् । फेरि समाचार पनि विभिन्न प्रकारका हुन्छन् । समाचार घटनाको व्याख्यान मात्र भएकाले यसमा विचार होइन घटनाको व्याख्या गरिन्छ । समाचार विचार व्यक्त गर्न होइन, घटनाको जानकारी दिन लेखिन्छ । त्यसै भएर समाचार लेखनका सन्दर्भमा ‘राइटिङ फर एक्स्प्रेसन, नट फर इम्प्रेसन अर्थात् वर्णन लागि लेख, प्रभावका लागि होइन’ भनिन्छ । समाचारमा अरूको विचार राख्न सकिन्छ । साथै, समाचार पढेर कसैले विचार बनाउन भने सक्छ तर समाचारदाता स्वयम्ले समाचारमा विचार व्यक्त गर्ने होइन । यसर्थ, समाचारमा मात्र आधारित भएर भन्ने हो भने, पत्रकारिता बिल्कुल सिप÷कला हो । शिक्षा होइन ।
पत्रकारितामा समाचार मात्र नभएर लेख, सम्पादकीय, सूचना विज्ञापनजस्ता सामग्री पनि हुन्छन् । लेख र सम्पादकीयमा विचार राख्न पाइन्छ । लेखमा व्यक्तिगत र सम्पादकीयमा संस्थागत विचार राखिने भएकाले यिनमा आग्रह वा मान्यता रहन्छन् । त्यस कारण यस्ता सामग्रीलाई ‘शिक्षा’ भन्न सकिन्छ । यहाँनेर पत्रकारितालाई ‘एडुकेसन, विथआउट द फेस अफ टिचर’ जो भनिन्छ, त्यसको पुष्टि गर्न सकिन्छ । यसरी हेर्दा, पत्रकारिता सिप मात्र होइन शिक्षा पनि हो ।
सामाजिक अनुसन्धानका विधि अपनाएर तथ्याङ्कसहितको गहन (डेफ्प्थ न्युज) समाचार लेख्नुभयो भने सामाजिक अध्ययनका सामग्री तयार गर्नुभएको हुन्छ । पाठकका लागि यस्ता समाचार/सामग्री सामाजिक अध्ययन हुन सक्छ । समाजका घटना, विकास, परिवर्तन, मूल्य, मान्यतालाई यसरी लेखेर पत्रकारितालाई ‘सामाजिक अध्ययन’ बनाउन सक्नुहुन्छ । यस्ता साम्रगीमा समाचारदाताले सिप÷कला प्रयोग गर्दै र समाचारीय व्याख्या गर्छ भने यो सामाजिक वा जीवनोपयोगी सिप भयो, किनभने सञ्चारलाई अन्तरवैयक्तिक सिप पनि भनिन्छ । कसैले यस्ता सामग्रीमा आफ्ना विचार, आग्रह वा समाजका मूल्यमान्यता, विश्वास विचार मिसाएर अर्तिमूलक (नर्मेटिभ) बनाउँछ भने यस्ता सामग्री ‘शिक्षा’ वा ‘अध्ययन’ हुने भए ।
त्यसो भए पत्रकारिता विज्ञान हो त ? विज्ञान हुनका लागि पत्रकारितालाई त्यति सहज छैन, किनभने ‘अगस्ट कम्ट,’ ‘इमाइल दुर्खिम,’ ‘हर्वर्ट स्पेन्सर,’ ‘म्यालिनोस्की’ ले सामाजिक कला (आर्टस्) लाई सामाजिक विज्ञानमा रूपान्तरण गर्न जुन परिश्रम गरे र हिजोको कला आज सोसल साइन्स÷सफ्ट साइन्स भएको छ । यस्तै परिश्रम गरेर पत्रकारितालाई विज्ञान बनाउन सकिएला तर त्यसअघिसम्म पत्रकारितालाई सामाजिक विज्ञान होइन, सामाजिक विज्ञानसँग सम्बन्धित स्वतन्त्र सङ्काय मात्र भन्नु पर्छ । बनाउनु पर्छ । विज्ञान हुन नयाँ सिद्धान्त बनाइनु पर्छ, पुराना सिद्धान्तको परीक्षण गर्नु पर्छ । परीक्षणपछि कि त पुराना सिद्धान्तको पुष्टि गर्नु पर्छ होइन भने त्यस्ता सिद्धान्तलाई असत्य प्रमाणित (फल्सिफाइ) गर्न सक्नु पर्छ या परिमार्जन गर्न सक्नु पर्छ । पत्रकारिता सिद्धान्त बनाउने बाटोमा नहिँड्ने भएकाले विज्ञान र पत्रकारिताको सन्दर्भमा ‘नजाने गाउँको बाटो नसोधौँ ।’
अब रह्यो रचनात्मक पत्रकारिता । कसैले रचनात्मक मिडिया पनि भन्लान् । रचनात्मक पत्रकारिता र माध्यम मिडिया भिन्न हुन् भनिरहनु परेन । पत्रकारिता सन्देश र मिडिया माध्यम हो । पत्रकारिता वा मिडिया कुनलाई रचनात्मक बनाउन चाहिएको हो, पहिला यहाँ स्पष्ट हुनु पर्छ । रचनात्मक पत्रकारिताले ।
–द्वन्द्व र घटना मात्र देखाउँदैन, प्रगतिका कुरा पनि गर्छ,
–समस्या मात्र देखाउँदै, समाधानका उपाय पनि दिन्छ,
–जनतासँग बढी अनुकूल, पब्लिक फ्रेन्ड्ली हुन्छ,
–सकारात्मक परिवर्तनका लागि महìव दिन्छ,
–विकास गतिविधिलाई बढावा दिन्छ भनिन्छ ।
यस सन्दर्भमा स्पष्ट पाराँै– पहिलो कुरा त ‘रचनात्मक पत्रकारिता’ भन्ने हुँदैन । यसो भनियो भने एक सग्लो नेपाल अधिराज्यभित्र मुस्ताङ्मा पनि राजा थिए भनेर पुष्टि गर्न खोजे जस्तै हुन्छ । पत्रकारिता शब्द यस्तो पदार्थ होइन जुन जस्तोसुकै भाँडामा राख्न सकियोस् । पत्रकारिताभित्र एउटा बिट हुन सक्छ ‘रचनात्मक’ रिपोर्टिङ । विकास पत्रकारिता भन्नेहरूले रचनात्मक पत्रकारितालाई पनि विकास पत्रकारिता नै भन्छन्, मान्छन् । कुरो उही हो, विकास पत्रकारिता पनि हुँदैन । यो पनि बिट वा क्षेत्र/विषय हो । फोटो पत्रकारिता पनि पनि हुँदैन । पत्रकारितामा फोटो मात्र हुन्छ । फोटो पत्रकारिताको परिभाषा हेर्नुभयो भने यसलाई ‘पत्रकारिताको विशेष स्वरूप, जसमा शब्दको सट्टा दृश्यले कथा व्यक्त गर्छ’ भनिएको छ । यसलाई पत्रकारिताको ‘विशेष स्वरूप’ भनिएको छ । पत्रकारिता नै भनिएको छैन । माथि पनि भनिएको छ– माध्यम तथा प्रविधिका कारण पत्रकारिताका स्वरूप, शैली र स्वर भिन्न भिन्न हुन्छन् । पत्रकारिता भन्नु एउटै अवधारणा हो । मानिस भन्नु एउटै हो । ककेसियन, मङ्गोलाइड वा निग्रोइड, महिला, पुरुष, हिमाल, तराईको मानिस वा धर्मका आधार÷विशेषतामा भिन्न भिन्न मानिस भन्न सकिएला तर मानिस त एउटै हो । अफ्रिकावासीलाई पहिला मानिस भनेर जान्दछौँ कि ‘निग्रोइड’ भनेर ?
पत्रकारिताभित्रको वैयक्तिक आलेख वा सम्पादकीयले समस्या मात्र देखाउँदै, समाधान पनि दिन्छन् । जुन काममा लागि रचनात्मक पत्रकारिता भन्ने बहस उठाउनै पर्दैन । जहिलेबाट पत्रकारितामा लेख÷सम्पादकीय छापिन थाले त्यहाँदेखि नै पत्रकारिता ‘रचनात्मक’ छँदै छ । जहाँसम्म समाचारको कुरा छ, रचनात्मक पत्रकारिताका समर्थकले भने झैँ समाचारले समस्याको सिधै समाधान दिन सक्दैन । फेरि एउटै उपाय सबका लागि समाधान पनि हुँदैन । एकैछिनलाई मानौँ, रचनात्मक पत्रकारिता गर्नेले माओवादी सशस्त्र द्वन्द्वको ‘समाधान’ कसरी दिन्थे ? यस्तो पत्रकारिताले दिने उपाय माओवादी, सेना, सरकार र आमजनताका लागि समान समाधान हुँदैनथ्यो । माओवादीले जेलाई समाधान भनिरहेको हुन्थ्यो अथवा एउटा पत्रिकाले जेलाई समाधान भन्थ्यो, त्यो राज्य/सरकारलाई समाधान नहुन पनि सक्थ्यो । अहिले राजा फर्काउने वा नफर्काउने सतही बहस छ । समाधान के हो त ? रचनात्मक पत्रकारिताले यस्तो बहसमा सर्र्वमान्य समाधान दिन सक्दैन । घटना मात्र देखाउन सक्छ । समाधान दिने अन्य अङ्ग र निकाय हुन्छन्, समाज वा राज्यमा । ‘कसैले नदिएको पगरी आफैँ गुथ हनुमान’ भने जस्तो कसैले भनुन् नभनुन् पत्रकारिता आफैँ समाधानका उपाय दिने गुरु हुने हो भने अरू निकाय वा सङ्कायले के गर्ने ?
रचनात्मक पत्रकारिताले समस्या मात्र देखाउँदैन, समाधान पनि दिन्छ भनिएको छ । पत्रकारिताले समाधान नै दिने हो कि समाधानका उपाय देखाउने हो भनेर स्पष्ट हुनु पर्छ । पत्रकारिताका कुनै सामग्री (समाचारबाहेक) ले महँगी नियन्त्रणको उपाय दिन सक्छन् तर महँगी नियन्त्रण नै त गर्दैनन् । उपाय मात्र दिएर के गर्ने, सरकारले सुन्दैन भन्दै एक दिन कसैले ‘अप्लाइड जर्नानिजम’ भनेर पत्रकारिता वा पत्रकार आफँैले नै महँगी नियन्त्रण गरिदिनु पर्छ भन्यो भनेर लेख्नु÷बोल्नुपर्ने पत्रकार महँगी नियन्त्रणमा परिचालन भए भने पत्रकारिता भन्ने जिनियस कहाँ रहन्छ ? पत्रकारितामा सधैँ सोधिने एउटा प्रश्न छ–‘फोटो पत्रकारले घरमा आगो लागेको दृश्यको फोटो खिच्ने कि, घरको आगो निभाउने ?’ रचनात्मक पत्रकारिताको परिकल्पना पनि यस्तै हो । यस्ता प्रश्नलाई के उत्तर दिन्छ रचनात्मक पत्रकारिताले ? रचनात्मक पत्रकारिताका नाममा जातीय छुवाछुतका घटनालाई दबाबमूलक मिलापत्रतिर लैजानुलाई कानुनले रचनात्मक भन्दैन । घटनाका पीडा लुकाउनु रचनात्मक पत्रकारिता र सोचभित्र पर्छन् ? पत्रकारिताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । अदालत र प्रहरीको जिम्मेवारी पनि निर्वाह गर्नु भनेर पत्रकारिताले आकाश थाम्ने उद्घोष गर्नु हास्यास्पद हुन्छ । समाजका तिता यथार्थ लेखिएन भने पत्रकारिता शासक–भक्तिको सुरिलो गीत बन्छ, जो अधिनायकवादी (अथोरोटेरियन) पत्रकारिता बन्ने खतरा बढ्छ । मालिकको ज्यूहजुरीमा बित्छ पत्रकारिताको जोवान । अर्कोतिर, समाधान आफँैमा अर्मूत कुरा हो । समाधान ससर्त हुन्छ । देश, काल, परिस्थितिले निर्धारित गर्छ समाधान र यसका उपाय । जनताले देखाएका उपाय सरकारका लागि समाधान नहुन सक्छ । पत्रकार वा पत्रकारिता के त्यस्तो ‘हम जाएगा’ हो, जसले कसैले गर्न नसकेको काम गर्छ ? पत्रकारिता सामाजिक अध्ययनसँग नजिक भएकाले यसमा नयाँ नयाँ विचार, दृष्टिकोण, मान्यता, कहिलेकाहीँ सिद्धान्त पनि आउन सक्छन् तर ती विचार, दृष्टिकोण, मान्यता, सिद्धान्त सधँै सबैका लागि लागु हुन्छन् भन्न सकिँदैन । पञ्चायतले जातीय सवाललाई पूर्ण रूपमा समस्या भन्थ्यो, सामाजिक सहिष्णुताका नाममा तर गणतन्त्रले त जातीय विषयलाई समाधान मान्नु पर्छ । वैचारिक सौन्दर्य मान्नु पर्छ ।
पत्रकारिता अपवादका घटनामा आधारित शास्त्र हो । बेलायतका पत्रकारिता विज्ञ ‘जोनाथन फिन्बाइ’ ले पत्रकारिताको विकास बिटका सन्दर्भमा उदाहरण दिए– सयौँ रेल सुरक्षित गन्तव्यमा पुगे त्यो समाचार बन्दैन तर एउटा रेल दुर्घटनामा परे त्यो समाचार बन्छ । किनकि पत्रकारिता ‘एक्सेप्सनल केस’ मा आधारित हुन्छ । यति भनिसकेपछि खानेपानीको व्यवस्था गर्नु स्वाभाविक भएकाले सरकारले कही धारा पु-यायो भने सामान्यतः त्यसलाई रचनात्मक पत्रकारिताका नाममा बढी–बढाऊ समाचार बनाउनु पर्र्दैन किनभने यो स्वाभाविक प्रव्रिmया हो । जनतालाई पानी पनि खुवाउन नसक्नु अस्वाभाविकता हो तसर्थ पानीको अभावको ठुलो समाचार बन्छ ।
रचनात्मक पत्रकरिता भन्नेहरूले अभाव र विकृतिका घटनालाई नकारात्मक समाचार भन्लान् । समाचार सकारात्मक र नकारात्मक हुन सक्दैनन् । समाचार होइन घटना मात्र सकारात्मक र नकारात्मक हुन सक्लान् । सामाजिक विज्ञानले त घटनालाई पनि सकारात्मक र नकारात्मक भन्दैन । र त ऊ भ्यालु फ्रि छ । अनि त ऊ विज्ञान भएको छ ।
रचनात्मक हुने नाममा समस्या लुकाउनु हुँदैन । नेपालको सन्दर्भमा कसैले चिया र दुध बेच्न नपाउने, अनि सामाजिक सहिष्णुताका नाममा रचनात्मक पत्रकारिताले यस्ता घटना बाहिर नल्याउनु ? यो सम्भव हुँदैन । कसैले भन्लान् ‘दुध बेच्न पाएनन्’ को सट्टा ‘दुध बेच्न पाउनु पर्छ’ भनियो भने रचनात्मक पत्रकारिता हुन्छ । तर ‘दुध बेच्न पाएनन्’ भन्ने समाचारले दुध बेच्न पाउनु पर्छ भन्ने लुप्त सन्देशकै वकालत गरिरहेको पनि हुन्छ । त्यसैले पत्रकारितामा आउने हरेक समाचारले समाधान सङ्केत गरेकै हुन्छन् र रचनात्मक हुन्छन् नै । यसो हो भने रचनात्मक पत्रकारिता भनेर बौद्धिक विलास गर्नु आवश्यक छैन । पत्रकारिता आफँैमा रचनात्मक परिणामका लागि गरिन्छ ।