• २१ असार २०८२, शनिबार

गीत सङ्गीतले परिवर्तनमा सहयोग गरेको छः शिक्षामन्त्री पन्त

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त। फाइल तस्बिर

काठमाडौँ, असार २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताउनुभएको छ।

साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले आज यहाँ रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उहाँले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा सहभागी भएको स्मरण गनुभयो। गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमा पनि मन्त्री पन्तको जोड थियो। 

दक्षिण एसियाली क्षेत्रको कम्युनिस्ट आन्दोलनमा पनि गीतले प्रभाव पारेको बताउँदै उहाँले नेपालको माओवादी सशस्त्र द्वन्द्वमा पनि गीत सङ्गीत क्षेत्रको भूमिकाबारे समेत चर्चा गर्नुभयो।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताउनुभयो। आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएका बेला धर्म, संस्कृति र साहित्यिक क्षेत्रको विकासका लागि काम गरेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायतले नेपाली साहित्य एवं गीत सङ्गीत  क्षेत्रमा रिमालको योगदानबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको थियो। रासस