काठमाडौँ, असार २१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा प्रवेश गराउने दाबी गर्नुभयो । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठुलो भूमिका सङ्गीतले खेलेको बताउनुभयो ।
उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत र नृत्यहरूले बढी भूमिका खेलेको बताउनुभयो । आगामी निर्वाचनको लडाइँमा पनि गीत, सङ्गीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउने छौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईँहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुने छ ।’
अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्नुभयो ।