• २१ असार २०८२, शनिबार

बर्दियामा डेङ्गुको बिरामी बढ्दै

blog

कार्यक्रममा डेङ्गुबारे जानकारी गराइँदै । तस्बिरः ज्योति पन्थी

ज्योति पन्थी

बबई (बर्दिया), असार २१ गते । स्वास्थ्य कार्यालय बर्दियाले, बर्दियामा गत वर्षको तुलनामा यस वर्ष डेङ्गु, कालाजार, स्क्रबटाइफसजस्ता रोगहरू बढ्दै गएको जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रममा विगतका वर्षमाभन्दा यस वर्ष बर्दियामा डेगुको सङ्क्रमण बढेको जानकारी गराएको हो । स्वास्थ्य कार्यालय बर्दियाले आर्थिक वर्ष २०८०–८१ मा एक सय ४२ जनालाई डेङ्गु सङ्क्रमण पुष्टि हुँदा आर्थिक वर्ष २०८१–८२ मा भने एक सय ५० जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । 

बर्दियामा गत आर्थिक वर्षमा चार जनामा देखिएको कालाजार यस आर्थिक वर्षमा ६ जनामा देखिएको छ । कामको सिलसिलामा भारतको विभिन्न सहरमा जाने र काम गरेर फर्कदा विभिन्न रोगहरू लिएर फर्कनेको सङ्ख्या बढी भएका कारणले बर्दियामा डेङ्गु, कालाजार स्क्रवटाइफसजस्ता बिरामीहरू बढेको देखिन्छ । 

लामखुट्टेले टोकेमा डेङ्गुको प्रकोप बढ्ने र भुसुनाले मानिसलाई टोकेमा कालाजार हुने भएकाले यसबाट सतर्क रहन सचेत रहन स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध गरेको छ । भारतमा कामका लागि गएका नेपालीले फर्कदा डेङ्गु सङ्क्रमण लिएर फर्कने गरेका कारण बर्दियामा डेङ्गु सङ्क्रमणको प्रकोप बढेको देखिएको स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यले बताउनुभयो । 

वर्षायामको समयमा उमेर पुगेका भन्दा साना बालबालिकामा डेङ्गु रोगको सङ्क्रमण बढेको बर्दिया अस्पतालका बालरोग विशेषज्ञ विश्वनाथ शाहले जानकारी दिनुभयो । विगतका वर्षमा भन्दा यस वर्ष डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै जान थालेका कारण सबै सजग हुनुपर्ने खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले बताउनुभयो ।