हनोई, असार २१ गते । भियतनामले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गरेको छ, जुन पछिल्ला केही वर्षहरूमा अत्यन्तै उल्लेखनीय मानिएको छ । देशको केन्द्रीय तथ्याङ्क कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि दर सबैभन्दा उच्च हो, जसले समग्र आर्थिक स्थायित्व र सुधारको सङ्केत गर्दछ ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान विश्व तथा क्षेत्रीय परिस्थितिहरूमा चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि देशको सामाजिक तथा आर्थिक प्रदर्शन सकारात्मक रहेको छ र निर्धारित लक्ष्यतर्फ उन्मुख देखिन्छ ।” यस अवधिमा दोस्रो त्रैमासिकमा मात्र भियतनामले ७.९६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ, जुन हालका वर्षहरूमा दोस्रो त्रैमासिकको सबैभन्दा उच्च दर हो । सरकारको लक्ष्य यस वर्ष कम्तीमा आठ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्ने रहेको छ ।
यसैबिच, वियतनाम र अमेरिकाबिच भएको व्यापार सहमतिपछि अमेरिकी आयात महसुल दर उल्लेखनीय रूपमा घटाइएको छ । प्रस्तावित ४६ प्रतिशत महसुललाई घटाएर न्यूनतम २० प्रतिशतमा झारिएको छ, जसको सट्टा वियतनामले अमेरिकी उत्पादनहरूलाई आफ्नो बजारमा पहुँच दिन सहमति जनाएको हो ।
अमेरिकासँग सबैभन्दा धेरै व्यापार नाफा गर्ने मुलुकहरूमध्ये वियतनाम तेस्रो स्थानमा पर्दछ, जसले गर्दा उसमाथि उच्च महसुल लगाउने प्रस्ताव गरिएको थियो । तर, सहमतिको माध्यमबाट समाधान खोजिएको छ, जुन आपसी व्यापार सम्बन्ध सुदृढ गर्नेतर्फ सकारात्मक कदमको रूपमा लिइएको छ । रासस/एएफपी