शेरबहादुर राई
ओखलढुङ्गा, असार २१ गते । यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गाबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपियाँ राजस्व सङ्कलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताउनुभयो ।
सवारी साधन कर बापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपिया राजस्व सङ्कलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर बापत ५१ हजार ८५० रुपिया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । आयकर वापत १२ लाख १५ हजार ६६० रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालयमा यस अवधिमा ३१० सवारी साधन दर्ता भएका छन् । यस अवधिमा सार्वजनिक सवारी १९ वटा, निजी सवारी २७५ वटा र सरकारी सवारी १६ वटा गरी ३१० सवारी साधन दर्ता भएका छन् ।
यसैबिच, हर्कपुरमा रहेको यातायात व्यवस्था कार्यालयको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । गत चैत महिनामा मानेभन्याङ गाउँपालिका–७ हर्कपुरमा स्थापना भएको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाख ४५ हजार ७८० रुपियाँ राजस्व सङ्कलन भएको हो । सम्पर्क कार्यालय हर्कपुरका प्रमुख कपिलमनी दाहालका अनुसार सबैभन्दा बढी सवारी साधन कर सङ्कलन भएको छ । यस शीर्षकमा १८ लाख ४६ लाख ७९० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, ब्लुबुक नवीकरण बापत एक लाख दस हजार ५०, पटके राजस्व एक लाख ७२ हजार ६९० सङ्कलन भएको छ । रुट परमिट बापत २२ हजार ६५० र ९३ हजार ६०० आयकर सङ्कलन भएको प्रमुख दाहालले जानकारी दिनुभयो । पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरी सम्पर्क कार्यालय स्थापना गरिएको थियो । मध्ये पहाडी र सिद्धीचरण लोकमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरेर कार्यालय स्थापना भएपछि ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका सेवा ग्राहीलाई सेवा लिन सहज भएको छ ।
रुम्जाटारमा रहेको मुख्य कार्यालय बाट सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । सम्पर्क कार्यालय हर्कपुरबाट पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा प्रवाह भइरहेको छ ।