• २१ असार २०८२, शनिबार

सडक र चोकमा फेरि बढ्दै छाडा चौपाया

blog

नेपालगन्जको धम्बोझी चोकको सडक बिचमा बसेका छाडा चौपाया । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, असार २१ गते ।
नेपालगन्जका विभिन्न मुख्य सडक र चोकहरुमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको उपस्थिति बढ्दै गएको हो ।

छाडा चौपायाकै कारण सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्ने सर्वसाधारणलाई समस्या भइरहेको छ । 
केही समय सडकमा कम देखिएका छाडा चौपाया वर्षा सुरु हुने वित्तिकै फेरि सडक चोकमा जताततै देखिन थालेको स्थानीयले जनाएका छन् ।

मुख्य सडक र चोकहरूमा छाडा चौपायाको उपस्थितिले बेला बेलामा दुर्घटनाहरू समेत हुने गरेकाले सडकमा बाइक र गाडी गुडाउन समेत डर लाग्ने गरेको स्थानीय सामाजिक अगुवा हेमन्तराज काफ्लेले बताउनुभयो ।

उहाँले सो समस्याप्रति पटक–पटक आवाज उठाइए पनि समस्या समाधान नभएको र बजारका सडकमा छाडा चौपाया झन् बढेको गुनासो गर्नुभयो ।

उपमहानगरका मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा खच्चर, गाई र गोरु भेटिने गरेको नागरिक समाजका अर्का अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले छाडा चौपाया नियन्त्रणका लागि स्थायी समाधान खोज्न स्थानीय सरकारसँग अनुरोध गर्दै कहिलेसम्म अवस्था यस्तै रहने भन्ने प्रश्न पनि गर्नुभयो ।

घोडा, खच्चर र गाई गोरु जस्ता चौपाया पाल्नेहरूले नै ती चौपायालाई खुला छोडिदिने गरेकै कारण उनिहरू सडक र चोकहरूमा जताततै भेटिने गरेका छन् ।

बजारका पसल र घरका अगाडि ती जनावरले दिसा गरेर फोहर गर्दा व्यवसायमा पनि प्रभाव परेको सदरलाइनका व्यवसायी चुन्ना राईले बताउनुभयो । उहाँले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह गर्नुभयो ।

नेपालगन्जमा छाडा चौपाया राख्नका लागि काञ्जि हाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैैन । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न स्थायी समाधान खोज्ने प्रयासहरू भइरहेको जनाउँदै आएको छ तर पनि समस्या ज्युँ का त्यु नै रहेको छ ।