• १० पुस २०८१, बुधबार

साहित्यिक प्रकाशन कसले किन बचाउने ?

blog

एउटा बसह थालौँ र निष्कर्ष निकालौँ । नेपालमा साहित्यिक पत्रिका प्रकाशनको इतिहास सङ्ख्याका हिसाबले समृद्ध छ तर ती सबै पत्रिका किन जीवित भएनन् ? यस्ता पत्रिका प्रकाशन गर्ने कसले म यसको प्रकाशन बिचैमा रोक्छु भनेर सुरु गरेको थियो होला र ? यस्ता पत्रिकालाई कसले जीवन दिने, कसरी दिने ? अथवा जीवन दिन आवश्यक छ कि छैन ? जीवनका उर्वर समय साहित्यिक पत्रिकाको प्रकाशन र व्यवस्थापनमा खर्चनुभएका अग्रजहरूले पत्रिकाबाट कुनै आर्थिक लाभ प्राप्त गर्नुभएको देखिँदैन । बरु पाएका दानदक्षिण, सहयोग, पुरस्कार यिनै पत्रिकामाथि लगानी गर्नुभएको होला । पत्रिका प्रकाशन गरेर लेखकलाई बाँड्दै हिँड्नु प्रकाशक/सम्पादकहरूको दैनिकी भएको छ । केका लागि उहाँहरूले यस्तो गर्नुभएको होला ? के उहाँहरूको निजी प्रयासले नेपाली साहित्यिक क्षेत्र र समग्रमा नेपाल लाभान्वित भएको छैन ? भूपि शेरचनलाई चर्चित बनाउन निजी क्षेत्रका यस्ता पत्रिकाको भूमिका छैनन् ? शेरचनको चर्चित कविता ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए’ पहिलो पटक रचना पत्रिकाले छापेको हो । नेपाली साहित्यको श्रीवृद्धिमा यस्ता पत्रिकाको महìवलाई कम आँकलन गर्नु हुँदैन । साथै यस्ता पत्रिकाको जीवनसँग नेपाली साहित्यको विकास जोडिएको यथार्थ बुझेर यिनको निरन्तरतामा सम्बद्ध क्षेत्रले विशेष ध्यान दिनु पर्छ । 

मधुपर्कको सन्दर्भ पनि यही हो । हो, मधुपर्क गोरखापत्र संस्थान जस्तो आर्थिक तथा संस्थागत सुदृढ निकायबाट प्रकाशित छ । जसले गर्दा अन्य साहित्यिक पत्रिकाको तुलनामा यसको भविष्य सुरक्षित देखिन्छ तर अन्य पत्रिका जो निजी पहलबाट प्रकाशित छन् तिनको निरन्तरता सुनिश्चित भएन भने यसबाट समग्र सर्जक तथा लेखकको लेखनीय उन्नयन खुम्चने भएकाले यस्ता पत्रिकाको निरन्तरताप्रति प्रथमतः सर्जकहरू सजग हुनु पर्छ । मधुपर्कको ५७ औँ वार्षिकोत्सवमा साहित्यिक पत्रिकाको जीवनबारे मैले केही प्रस्तावना, केही प्रस्ताव राखेको थिएँ । यस्ता प्रस्तावमाथि विद्वत, सर्जक तथा साधकहरूको विशेष अभिमत तथा कार्यान्वयन आवश्यक छ । मैले राखेका प्रस्तावहरूलाई निम्न अनुसार सङ्क्षेपीकरण गर्न सकिन्छ ।  

पुस्तक विमोचन घटाऔँ, विज्ञापन बढाऔँ

दैनिक जस्तो हुने पुस्तक विमोचन, पुस्तकमाथिका चर्चा/समीक्षा जस्ता कार्यव्रmमले सर्जकहरूको सयम बर्बाद भएको छ । कार्यक्रममा नजाऔँ साथीसङ्गीको चित्त दुख्ला, जाऊँ लामा लामा कार्यक्रम, उही वक्ता उस्तै वक्तव्य/मन्तव्य । दिइएका किताब पढ्ने फुर्सद् पनि हुँदैन । अन्य दिनका आआफ्ना दैनिकी र व्यवस्था छँदै छन्, एक दिन शनिबार वा सार्वजनिक बिदाको दिन पनि यस्ता कार्यक्रममा जानुपर्दाको दृष्टान्त– ‘पुस्तक सबै त पढेको छैन, मलाई अस्ति मात्र प्राप्त भयो तर मैले केही पढेको आधारमा मेरा समीक्षात्मक विचार राख्छु’ भन्नुपर्ने अवस्था छ । पढेको छैन भने किन बोल्न आउने ? पुस्तकका भूमिका र मन्तव्य पढेर  पुस्तकभित्र ‘समाजको चित्रण छ, पाठकलाई आफूसँगै हिँडाउन सक्नु उहाँको क्षमता हो । कविताले मथिङ्गल हल्लाएका छन्’ जस्ता सनातनी तथा अभिलेखीय विचार र शब्दका मन्तव्यले न कसैका पुस्तकको बिक्री बढ्ने छ न कुनै व्यक्ति सर्जक र साधक बन्ने छ । खाता, पाता, खाजापानीमा केही पैसा खर्च गरेर होटल व्यवसायको आम्दानी बढाउनुको औचित्य छैन भन्ने पुष्टि भइसकेको छ । होटलको व्यापार वृद्धि गर्नुभन्दा साहित्यिक पत्रिकामा विज्ञापन, शुभकामाना, शुभेच्छा दिएर पत्रिकाकोे आम्दानी बढायो भने पत्रिका र सर्जक दुवै बाँच्छन् । साहित्यिक पत्रिका नबाँचे सिर्जना कहाँ उम्रन्छन् ? सर्जक कहाँ फैलन्छ ?  

जन्मदिन र शुभ :

कुनै सर्जकले आफ्ना साथीहरूलाई वा प्रकाशित कसैको पुस्तमा मलाई यो यो मन प¥यो उक्त पुस्तकको सफलताको कामना गर्छु भनेर विज्ञापन उपलब्ध गराएर साहित्यिक पत्रिकालाई सहयोग गर्न सकिन्छ । यस्ता सन्देशलाई ‘विज्ञापन’ पनि नभनौँ । यी र यस्ता सहयोग पाए मात्र पत्रिका प्रकाशित हुन्छन् भन्ने होइन, यस्ता विज्ञापन पाइएला र पत्रिका चलाउँछु भनेर कसैले पनि साहित्यिक पत्रिका प्रकाशन थालनी गरेका पनि होइनन्, मात्र यति हो कि पत्रिकाले व्यक्तिलाई सर्जक हुने अवसर दिन्छ भने व्यक्ति अर्थात् सर्जक पनि पत्रिकाको सुनिश्चितमा सरोकारी हुनै पर्छ । यसका लागि कम्तीमा पनि सर्जकहरूले जन्मदिनका भोजभतेर त्यागेर साहित्यिक प्रकाशनमार्फत शुभेच्छा अर्पण गर्ने संस्कृति बसाइयो भने साहित्यिक पत्रिकाले सुनिश्चित जीवन पाउन सक्छन् । 

व्यावसायिक स्नेह

कतिपय सर्जकका ठुला व्यापार, व्यावसाय छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस्ता संस्थाले केही रकम खर्च गर्दै आएका पनि हुन्छन् । त्यस्ता संस्थाले जुनसुकै भए पनि साहित्यिक पत्रिकालाई स्नेहस्वरूप केही विज्ञापन दिने परम्परा बसाउन सकिन्छ । साहित्यिक पत्रिकालाई विज्ञापन दिँदैमा ठुला व्यावसायिक घरानाको व्यावसाय वृद्धि हुन्छ भन्ने होइन । लेनादेना वा बाटर सिस्टमको कुरा पनि होइन तर त्यस्ता घरानाले सामाजिक उत्तरदायित्व निर्वाह र साहित्यप्रतिको सद्भाव प्रदर्शन गर्न सक्न्छ । खेलकुदलाई हेर्ने हो भने विश्वभर खेलकुदका क्लबलाई व्यावसायिक घरानाले उल्लेख्य लगानी गरेका देखिन्छ, जुन राम्रो हो तर साहित्यको महìव खेलकुदको जति हुँदैन ? विज्ञापन र प्रायोजनको प्रवृत्तिले यही प्रश्न सोध्छ ।   

स्वदेश तथा विदेशमा रहनुभएका कतिपय पाठकका कारण नेपाली साहित्यिक पत्रिका तत्तत् स्थानमा पुगेका छन् । पत्रिका मात्र पुगेका छैनन् नेपाली साहित्य, भाषा, संस्कृति पुगेका छन् । भौतिक नभए पनि ‘ई–नेपाल’ विश्वभर फैलँदो छ । धेरै जसो नेपाली साहित्यिक पत्रिकाले आफूलाई अनलाइनमा राख्न सकेका छैनन् त्यसको वित्तशास्त्र अर्कै छ । यदि अनलाइन पढ्ने पाठकले आजीवन सदस्य बनेर वा ‘सद्भावी–विज्ञापन’ दिएर पत्रिकालाई माया गर्न सक्छन् । मधुपर्कको सन्दर्भमा, हामीले यसलाई अनलाइन गरेका छौँ, मधुपर्कका कतिपय पुराना÷नयाँ अङ्क यसको कार्यालयमा आएर भौतिक रूपमा अध्ययन गर्न सकिन्छ । यसबापत मैले के दिने त भनेर लाभग्राहीले सद्भाव राखिदिनुभयो भने पत्रिका, सर्जक तथा पाठकबिच अन्तरसम्बन्ध अरू झाँगिने छ । माया दोहोरो मात्र होइन बराबर पनि हुनुपर्ने त प्राकृतिक नियम नै हो । 

यी विचारहरू भावावेश होइनन् । एकतिर विद्युतीय प्रकाशनको बढ्दो अभ्यास, अर्कोतिर छापा पत्रिका, त्यसमाथि साहित्यिक पत्रिकालाई कसरी बचाउने भन्ने सन्दर्भमा पठन संस्कृति, विज्ञापन र सहयोग÷सद्भाव जस्ता पक्षमा बहस गर्नुपर्ने बेला आएको छ । यस्तो बहसको उठान सबैभन्दा पहिला सर्जकहरूबाटै हुनु पर्छ । पत्रिकाको नाता र नसा सर्जकसँग जोडिने हुनाले साहित्यिक प्रकाशनको व्यावसायीकरणले अन्तत्वोगत्वा सर्जक र सिर्जनामा टेवा पुग्छ । लेखकले पारिश्रमिक पाउनु पर्छ । साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक पनि निजी गाडीमा हिँड्ने क्षमता राख्नु पर्छ । समृद्धि हुनु पर्छ यो क्षेत्र । निरीह होइन । यस निम्ति साहित्यिक पत्रिकालाई अबका दिनमा कसरी जैजाने भनेर वर्तमान पुस्तालै नै बहस गर्नुपर्ने खाँचो देखिएको हो ।

भौतिक आँखा र भाखाका दृष्टिले साहित्यलाई ‘उत्पादन’ होइन भन्न सकिएला । यस्तो क्षेत्रमा विज्ञापन÷प्रायोजन उपलब्ध गराउन सरकार तथा व्यापारिक घरनाहरू त्यति आकर्षक नहुन सक्छन् । यसमा अन्यथा मान्नु पर्दैन । सरकारका हालैका नीति, कार्यक्रम, बजेटलाई हे-यो भने पनि साहित्य र साहित्यिक प्रकाशन सरकारको प्राथमिकताको कुन तहमा छन् भनेर स्पष्ट हुन्छ । यस्तो अवस्थामा सर्जकहरूले नै पत्रिका बचाउनुपर्ने देखिन्छ । साहित्यिक प्रकाशनलाई दिने भनिएको लोककल्याणकारी विज्ञापनको रकम प्राप्त गर्न अनावश्यक हैरानी झेल्नु पर्छ । यस्ता पत्रिकाले पत्रकार र कर्मचारी राख्न सक्दैनन् । आफैँ वा घरघरिवारका सदस्यको सहयोगमा प्रकाशित पत्रिकाले सरकारी मापदण्ड अनुसार कर्मचारी राखेको देखिनुपर्ने, पत्रकारलाई सरकारले तोकोको न्यूनतम पारिश्रमिक दिएको हुनुपर्ने, त्यस्तो तलबको कर काटिएको हुनुपर्ने, नियुक्तिपत्र दिइएको हुनुपर्ने जस्ता अप्ठ्यारा प्रावधान राखेर विज्ञापन लिनै नसकिने अवस्था बनाइएको अनुभव अग्रज सम्पादक/प्रकाशकहरूसँग छ । यस्तो अवस्था हेर्दा साहित्यकार तथा व्यावसायिक घरानाको सद्भावमा मात्र साहित्यिक पत्रिका बचाउन सकिने पुष्टि हुन्छ । साहित्यिक प्रकाशनको दीर्घजीवनका लागि आफ्ना दायित्व, क्षमता र कर्तव्यमा सचेत हुन साहित्यकार तथा सद्भावी व्यावसायिक घरानालाई अनुरोध गर्नु नै मेरो प्रस्तावना र प्रस्ताव हो ।  मधुपर्क