• १२ साउन २०८१, शनिबार

तरकारी खेतीमा जमेका शर्मा दम्पती

blog

तरकारी खेतीमा काम गर्दै शर्मा दम्पती । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन १२ गते । जलजला-७ धाइरिङ मिलन चोकका युवा किसान दीपक शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अङ्गालेको निर्वाहमुखी परम्परागत कृषि पेसालाई  व्यावसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्मा गाउँपालिकाकै नमुना किसानको परिचय बनाउनुभएको छ । 

हरेक बिहान देखि अबेर शर्मा दम्पती तरकारी खेतीको काममा व्यस्त हुनुहुन्छ । शर्माको तरकारी खेतीमा पुग्दा शर्मा दम्पती काममा व्यस्त हुनुहुन्थ्यो । दीपक र सीता दुवै जना लामा बगर स्थित तरकारी खेतीको गोडमेल गर्दै हुनुहुन्थ्यो । ३८ वर्षीय दीपकले कृषि पेसामा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउनुभयो । 

लामा बगर स्थित करिब ७ रोपनी खेत वार्षिक रूपमा एक लाख २० हजार रुपियाँ बुझाउने गरी जग्गा भाडामा लिनुभएका शर्मा दम्पतीले  काँक्रो,सिमी,बोडी, भेन्डी, लौका,करेला,घिरौँला, र खुर्सानी लगायतका बेमौसमी तरकारी फलाउनुभएको छ । भाडाको र आफ्नो जग्गा गरेर शर्मा दम्पतीले अहिले १० रोपनी क्षेत्रफलमा ताजा तरकारी लगाउनुभएको छ । हिउँदका समयमा १५ रोपनी सम्ममा तरकारी लगाउने उहाँले बताउनुभयो । 

उत्पादन भएको ताजा तरकारी लिन बेनीका व्यवसायीहरू घरमै आउने उहाँले बताउनुभयो । बेमौसममा उत्पादन गर्न सकेमा बेनीका व्यवसायीहरू घरमै लिन आउनुहुन्छ उहाँले भन्नुभयो, ‘‘घरबाट नै तरकारी बिक्री भएपछि बजार लैजाने ढुवानी रकम र समयको बचत भयो । बजार पुर्‍याएर बिक्री गर्नुपर्ने झन्झट पनि भएन ।’’ 

दैनिक रूपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रूपमा १२ देख १५ लाख रुपियाँ सम्मको तरकारी बिक्री गर्ने बताउनुहुन्छ । ‘‘कृषि पेसामा धेरै दुःख पनि छ,कमाई पनि छ । आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुसी लाग्छ । विदेश जाने सोच राखेर राहधनी बनाएर तर कृषि पेसालाई छाडेर जान मन मानेन ’’ शर्माले भन्नुभयो । 

मैले श्रीमानलाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौँ भने सीताले भन्नुभयो, ‘‘ छरछिमेकका साथीहरू विदेश गएको देखेर राहदानी बनाउनुभएको थियो । बाउ बाजेले अङ्गालेको कृषि पेसा हामीले छाड्नु हुन्न । कृषि पेसा गरे हामी दुवै जना सँगै हुन्छौँ । विदेश जाँदा परिवारसँग छुटिनुपर्दछ । अहिले दुवै जना तरकारीमा रमाएका छौँ,परिवार सबै जना खुसी छौँ । यही माटोमा पसिना बगाएर जीवन धान्न सक्छौँ भन्ने आत्मविश्वास जागेर आएको छ ।’’ 

आफूले अङ्गालेको कृषि पेसा छोरा बुहारीले निरन्तरता दिँदै अझै उन्नत तवरले गरेको देख्दा खुसी लागेको दीपकका बुबा दुर्गादत्त र आमा भद्रकाली शर्माले बताउनुभयो । छरछिमेकका कतिपय घरहरूमा बृद्धबृद्धाहरु एक्लै घरमा छन् भद्रकलीले भन्नुभयो,‘‘आफूले सुरु गरेको कृषि पेसालाई व्यावसायिक बनाउँदै छोरा बुहारी कृषिमा रमाएको देख्दा मनमा सन्तोष मिलेको छ,यही नै हाम्रा लागि करोड बराबरको सम्पत्ति हो । विदेशमा गएर करोड कमाएको भन्दा  बुढेसकालमा छोरा बुहारी साथमा रहेर दुःख सुखसँग घरमा बस्न पाउँदा यही नै ठुलो सम्पत्ति ठानेका छौँ ।’’ खेतबारीको काममा सघाउन नसके पनि घरभित्रको काममा सहयोग गरेर छोरा बुहारीलाई हौसला दिने गरेको उहाँले बताउनुभयो । 

बुबा आमाले गरेको निर्वाहमुखी कृषि पेसालाई दश वर्ष देखि यता व्यावसायिक रूपमा ताजा तरकारी उत्पादनमा लागेको दीपकले बताउनुभयो । हामीले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्थामा राम्रो सुधार आएको उहाँ बताउनुहुन्छ ।  

तरकारी बिक्रीको रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च,औषधि उपचार र छरछिमेकलाई समस्या पर्दा सरसापट दिन सक्ने र केही रकम बचत समेत गर्ने गरेको उहाँले बताउनुभयो । बेला बखतमा सरकारी निकायबाट पाउने तालिम र अनुदानले हौसला मिलेको उहाँको भनाई छ ।