• २४ असार २०८२, मङ्गलबार

पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), असार २४ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा निर्माण गर्न थालिएको सडक अलपत्र परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा ठाकुरबाबा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र  वडा नं. ९ का सडक अलपत्र परेका हुन् । 

सडक निर्माण गर्दागर्दै निर्माण व्यवसायीले अलपत्र पारेर छाडेपछि पर्यटकीय क्षेत्र कुरूप बनेको छ । पर्यटक चहलपहल हुने ठाउँमा लामो समयदेखि गिट्टी थुपारेर राखेपछि आवतजावतमा नै समस्या देखिँदै आएको छ । पर्यटन व्यवसायी रामजी थापाले चलनचल्तीको बाटोमा समेत गिट्टी थुपारेर राखेपछि आवतजावत गर्न समस्या भएको बताउनुभयो । बेस झारेर निर्माण व्यवसायी काम नगरी गायब भएको गुनासो उहाँको छ । 

पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज होस् भनेर ठाकुरबाबा नगरपालिकाले वडा नं. ९ मा चार वटा प्याकेज बनाई करिब सात किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का गरेको थियो । तीमध्ये अधिकांश सडक निर्माण व्यवसायीले काम नगरी अलपत्र पारेका छन् । 

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले निर्माण व्यवसायीले बेस झारेर बाटो हिँड् नै नमिल्ने गरी छोडेपछि नगरपालिकाले आफ्नै साधन परिचालन गरेर सम्याउन समेत बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले काम नगर्दा नगरपालिकालाई दायित्व थपिएको छ । कतिपय सङ्घीय योजना समयमा सम्पन्न नहुँदा बजेट फ्रिज जाने र दायित्व नगरपालिकामा थोपरिने गरेको छ ।”

एक वर्षअगाडि नै निर्माण सकिनुपर्ने सडक हालसम्म पनि निर्माण नगर्दा नगरपालिकाले ठेक्कासमेत तोडेको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले ठाकुरबाबा नगरपालिकाले ९ नं. वडाका दुई ओटा र ३ नं. वडाको एक गरी तीन ओटा ठेक्का सम्झौता  तोडेर कारबाहीको प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

समयमा काम नगरेको भन्दै ठाकुरबाबा नगरपालिका वडा नं. ३ मा रहेको रामदास मार्ग कालोपत्रे गर्ने जिम्मा पाएका निर्माण व्यवसायी तुलसी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । २०७९ चैतसम्म रामदास मार्गको ३५५ मिटर सडक कालोपत्रे गर्नका लागि तुलसी इन्जिनियररिङले २०७८ मङ्सिरमा ठेक्का पाएको थियो तर हालसम्म काम नगर्दा ठेक्का तोडेर कारबाही गर्न बाध्य भएको ढकालले बताउनुभयो । 

त्यसै गरी नेपाल राष्ट्रिय मावि ठाकुरद्वारादेखि खुसलपटुवासम्मको १८० मिटर सडक र चिट्कैयादेखि बर्दिया राष्ट्रिय निकुञ्जको गेट, हात्तीसार हुँदै मधुवन नगरपालिका जोड्ने ७२३ मिटर गरी दुई ओटा सडक निर्माण गर्न अलपत्र पार्ने अमर कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियालाई नगरपालिकाले कारबाही गरेको छ ।

नगरप्रमुख तिलकराम लम्सालले २०८१ असारसम्म निर्माण गर्ने गरी सम्झौता भए पनि पटक पटक म्याद थप गर्दासमेत हालसम्म सडक निर्माण नगरेका कारणले सम्झौता तोडेर कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले काम नगर्दा जनताले दुःख पाएको र नगरपालिकाको दायित्व बढ्दै गएको गुनासो गर्नुभयो । उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई तत्कालै ठेक्का सम्झौता तोडेर अर्को प्रक्रिया सुरु गरिने बताउनुभयो ।