• ५ जेठ २०८३, मङ्गलबार

काठमाडौँ बाल अस्पतालको उद्घाटन शनिबार: उपकरण खरिदका लागि सहयोगको आह्वान

blog

वरिष्ठ चिकित्सक डा. भगवान् कोइरालाको र भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ ।

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ बाल अस्पतालको उद्घाटन र हस्तान्तरण जेठ ९ गते शनिबार हुने भएको छ । वरिष्ठ चिकित्सक डा. भगवान् कोइरालाको पहल र भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङको अगुवाइमा निर्माण भएको अस्पतालको उद्घाटन तथा हस्तान्तरण जगद्गुरु शङ्कराचार्य विधुशेखर भारतीको उपस्थितिमा हुने भएको छ ।

भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङको अगुवाइमा काठमाडौँ बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपियाँभन्दा बढी योगदान भइसकेको छ । अस्पताल उद्घाटन र हस्तान्तरण हुने भए पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अति आवश्यक एमआरआई र सिटीस्क्यान मेसिनका लागि आर्थिक स्रोत जुटाउने पहल भइरहेको भाटभटेनी समूहले जनाएको छ ।

एमआरआई तथा सिटीस्क्यान मेसिनका लागि सरोकारवाला, साझेदार तथा शुभचिन्तकको उत्साहजनक सहयोगबाट हालसम्म दुई करोड २४ लाख ७३ हजार ३३३ रुपियाँको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

एमआरआई तथा सिटीस्क्यान मेसिनको अनुमानित लागत १५ करोड रुपियाँ रहेकाले थप स्रोत जुटाउन अभियानमा सहभागी हुन सम्पूर्ण व्यवसायी, साझेदार तथा शुभचिन्तकलाई भाटभटेनी समूहले आह्वान गरेको छ ।