सिर्जना खत्री
काठमाडौँ, जेठ ५ गते । आयोडिनरहित नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै विज्ञले चिन्ता व्यक्त गर्न थालेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झा व्यापारिक प्रयोजनका नाममा बजारमा आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार आयोडिन मानव शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्व हो । दैनिक भोजनमा प्रयोग गरिने नुनमा पर्याप्त आयोडिन नहुँदा विभिन्न गम्भीर स्वास्थ्य समस्या देखा पर्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “आयोडिनको मात्रा नभएको नुनको बिक्रीवितरण निरुत्साहित गर्नुपर्छ । नुन भनेको व्यावसायिक वस्तु मात्र नभएर जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । आयोडिनरहित नुनको सेवनले भविष्यमा जटिल स्वास्थ्य समस्या निम्त्याउँछ ।”
आयोडिनको कमीका कारण घाँटीमा थाइराइड ग्रन्थि बढ्ने, मानसिक तथा शारीरिक विकासमा अवरोध, स्मरणशक्ति कमजोर हुने र सिकाइ क्षमता घट्ने जस्ता समस्या देखिन सक्छन् । विशेष गरी गर्भवती महिला र बालबालिकामा आयोडिनको कमीले दीर्घकालीन असर निम्त्याउने गर्छ । गर्भावस्थामा पर्याप्त आयोडिन नपाउँदा गर्भस्थ शिशुको मस्तिष्क विकासमा असर पुग्ने, बालबालिकामा बौद्धिक क्षमता कमजोर हुने, शारीरिक वृद्धि सुस्त हुने तथा सिकाइमा कठिनाइ हुने जस्ता समस्या निम्तने उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय आयोडिनरहित नुनको बिक्रीवितरण बढ्नुको मुख्य कारण र आयोडिनको असन्तुलनले स्वास्थ्यमा देखिने असरका विषयमा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झासँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो संवाद :