• ५ जेठ २०८३, मङ्गलबार

डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ ४ गते । झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमवार मेचीनगर–६ काँकरभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन, अमेरिकी डलर, भारतीय रुपियाँलगायत बरामद भएको हो ।

उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपियाँ बराबरको ५७० ग्राम सुन ,३० लाख६५ हजार बराबरको २० हजार अमेरिकी डलर,८५ हजार ४१० भारतीय रुपियाँ, सवारी चालक अनुमति, आधार कार्ड , भिभो मोबाइल , सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड , भिजा कार्ड र चेक बरामद भएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।