• ४ जेठ २०८३, सोमबार

गौरनटोलमा उज्यालो औंसी

blog

कार्यक्रममा सहभागी साहित्यकारहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ४ गते । सिन्धुलीको कमला खुँज क्षेत्रमा २०३५ सालतिर भिमान गौरनटोलका रघुनाथ कोइरालाको हत्या गरिएको थियो । राजनीतिक रंग दिइएको यो हत्याले गाउँमा त्रास फैलियो । परिवार विस्थापित भए । त्यहि वास्तविक घटनाको पृष्ठभूमिमा अनिता कोइरालाले लेख्नुभएको उज्यालो औँसी उपन्यासको परिचर्चा गरिएको छ ।

स्रष्टा पदयात्रा नेपालद्वारा आयोजित १०६ औं यात्रा शृङ्खला (जेठ १–३) अन्तर्गत परिचर्चा गरिएको हो । सिन्धुलीको कमलामाई नगरपालिका –९ गौरनटोलमा सहिद रघुनाथ कोइराला ट्रस्टद्वारा आयोजित कार्यव्रmममा सहिद रघुनाथ कोइरालाले सो क्षेत्रमा गर्नुभएको सामाजिक, आर्थिक, शैक्षिक योगदानबारे चर्चा गरिएको थियो ।

ट्रस्टकी संरक्षक तथा सहिद रघुनाथ कोइरालापत्नी कालिकादेवी कोइरालाको अध्यक्षता तथा पूर्व सांसद श्यामकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा साहित्यकार भारती न्यौपानेले गौरनटोलमा उपस्थित भइरहँदा  ‘उज्यालो औंसी’ का पात्रहरूलाई आफैँले भेटिरहेको आभास भइरहेको बताउनुभयो ।

समीक्षक डा. हेम भण्डारीले समाजमा व्याप्त कुसंस्कार र असमानताबिच चेतनाको राँको बाल्न उत्प्रेरित गर्ने उपन्यास कृतिका लागि सर्जक कोइरालालाई बधाई दिनुभयो । लेखिका अनिता कोइरालाले दिवंगत पिताका सत्कर्मलाई साहित्यको माध्यमबाट उजागर गरेको चर्चा गर्नुभयो । कार्यव्रmममा कविहरुले रचना वाचन गर्नुभएको थियो । त्यसअघि साहित्यकारहरुले गौरनटोलदेखि रानीचुरी दरबारसम्म पदयात्रा गर्नुभएको थियो ।