काठमाडौँ, जेठ २ गते । आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।
यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।
फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउनेछन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्याङकिङका आधारमा पलेशा गोवर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेकी प्रशिक्षक लामाले जानकारी दिनुभयो । पलेशा विश्व वरीयतको १०औँ स्थानमा छिन् ।
त्यसअघि खेलाडीले मे २५ मा उलानबटारमा हुने ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुनेछन् । यो प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले खेल्नेछिन् ।
चीनमा अध्ययनरत पलेशा त्यत्तैबाट उलानबटार जानेछिन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार बिदाइ गर्नुभयो । रासस