अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ४ गते । म्याग्दी जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको छ ।
सोमबारसम्म जिल्लाका ४ वटा पालिका पूर्ण खोप घोषणा भएको छ भने मंगलबार दुई वटा स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै छ ।
सोमबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका १५ महिनाभन्दा मुनिका एक सय १५ जना बालिबालिकाले नियमित खोप लगाइरहेको र १६ देखि २३ महिनाका ९३ जना र २४ देखि ५९ महिनाका चार सय ६० गरी कुल पाँच सय ५३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता गरे सँगै पालिकालाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष डिलकुमारी खत्रीले गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे संगै गाउँपालिका यस वर्ष पनि पूर्णखोप सुनिश्चित भएको रघुगंगा गाउँपालिका खोप समन्वय समितिका सदस्यसचिव एवम् गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जैसवालको भनाइ छ ।
कार्यक्रममा जिल्लाका पालिकाहरु मध्ये चौथो स्थानमा गाउँपालिकाले आफूलाई पूर्ण खोप घोषणा गरेको जिल्ला खोप समन्वय समितिका संयोजक डिलकुमारी खत्रीको भनाइ थियो ।
भोली मंगलबार मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका पनि पूर्ण खोप घोषणा भए सँगै पूरै जिल्ला पूर्ण खोप हुने खत्रीको कथन थियो । खत्रीका अनुसार पालिकामा सतप्रतिशत खोप युक्त बनाउन प्रयास गर्ने सबै स्वास्थ्यकर्मीको मिहिनेतले नै पालिकाले यो स्थान हासिल गरेको हो ।
यसैबीच गाउँपालिकाले लामो समय सम्म महिला स्वास्थ्य स्वयंसेवीका भएर काम गरेका राजु कुमारी शाही र खिमादेवी चोचाङ्गीलाई नगद विस हजारसहित सेवाबाट बिदाई गरिएको थियो ।
लामो समयसम्म महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा हरोरात्र खटीएका दुवै जनालाई नगद तथा सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान सहित बिदाई गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज पौडेलको भनाइ छ ।
यसैबीच गत मंगलबार धवलागिरी गाउँपालिकाका जन्मेदेखि १५ महिना भित्रका सबै बालबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिना भित्रका सबै बालबालिकाले खोप लगाएको शुनिश्चित गरेसँगै पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाकी सम्झना केसीको भनाइ छ ।
धवलागिरी गाउँपालिकामा जन्मेदेखि १५ महिना भित्रका एक सय ५७ जना बालबालिकाले खोप लगाएको खोप कार्ड सहित प्रमाणित गरिएको र १६ देखि ५९ महिना सम्का पाँच सय ३४ जनाले पनि पूर्ण खोप लगाएको पुष्टि भए पछि पूर्ण खोप पालिका घोषणा गरिएको धवलागिरी गाउँपालिका गाउँपालिकाका अध्यक्ष प्रेम पुनको भनाइ छ ।
बालबालिकालाई १५ भित्र बिसिजि, रोटा, पोलियो, एफआईपीभी, पिसिभि, डिपिटि, हेपटाइटिस बि, दादुरा रुवेला र जापानीज इन्सेपलाइटिस लगायतका १४ रोगका विरुद्ध ११ वटा खोप लगाउने तालिका हुन्छ ।
त्यसैगरी मंगला गाउँपालिकामा १५ महिना मुनिका १४० जनाले पूर्ण खोप पाएको र १६ देखि ५९ महिनाका पाँच सय ६१ जना बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने पूरै खोप पाएको सुनिश्चित भए पछि पूर्ण खोप सुनिश्चित तथा दिगो पन घोषणा गरिसकिएको छ ।
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार गाउँपालिकाले २०८३ बैशाख ७ देखि ११ गतेसम्म वडाहरुलाई पूर्ण खोप घोषणा गरिएको थियो ।
हाल नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्रहरुमा १७ हजार भन्दा बढी खोप सेसन हुने गर्दछ ।
नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै प्रत्येक बालबालिकालार्य पूर्ण खोप पाउने कानुनी व्यवस्था गरेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गर्ने गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा स्थानीयतहको काम कर्तव्य र अधिकार तथा वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सञ्चालनको व्यवस्था गरेको छ ।
म्याग्दी जिल्लालाई २०७१ चैत १५ गते पूर्ण खोप घोषणा गरिएको थियो भने हाल सम्म पनि सबै वडा तथा पालिका हुँदै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिँदै आएको छ ।