• ४ जेठ २०८३, सोमबार

मधेस प्रदेशसभा सदस्यमा ठाकुर नियुक्त

blog

नव नियुक्त प्रदेशसभा सदस्य सरिताकुमारी ठाकुरलाई सपथ ग्रहण गराउनु हुँदै मधेश प्रदेशका सभामुख रामअशिष यादव ।

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समावेशी समूह मधेशीतर्फ रिक्त रहेको प्रदेशसभा सदस्यमा महोत्तरीको गौशाला नगरपालिका वडा १२ का सरिताकुमारी ठाकुरलाई नियुक्त गर्नुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसको आधारमा निर्वाचन आयोगको वैशाख ३० गते प्राप्त पत्रअनुसार ठाकुर निर्वाचित भएको अधारमा सभामुख यादवले ठाकुरलाई सोमबार नियुक्त गर्नुभएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिनकुमार ठाकुरले जानकारी दिनुभयो । 

प्रदेशसभा सदस्य ठाकुरलाई आज सभामुख यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम सभामुख यादवले ठाकुरलाई सपथ ग्रहण गराउनुभएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ । 

सो पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएपछि मधेश प्रदेशसभामा उक्त पद रिक्त रहेको थियो  । 

सपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख यादवले प्रदेशसभा सदस्यमा नियुक्त हुनुभएका ठाकुरलाई बधाई दिँदै मधेशको विकास, सुशासन र जनताको हकहितमा ठाकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।