• ४ जेठ २०८३, सोमबार

कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

blog

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, जेठ ४ गते ।
कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

सुनारकी श्रीमतीले सोमबार बिहान करिब ७ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

सुनारको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।