विजयकुमार साह
ढल्केबर, जेठ ४ गते । धनुषाको किसानले कमला नदी किनारमा उत्पादन गरेको तरबुजाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । कमला नदी किनारका बलौटे जमिनमा व्यावसायिक रूपमा उत्पादन गरेको तरबुजा खरिद गर्न व्यापारी नआएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
धनुषा र सिराहा जिल्लालाई छुट्याउने कमला नदीको किनारमा तरबुजा तथा मौसमी तरकारी खेती गर्ने गरिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१, फुलबरियाका किसान रुपेशकुमार यादवले कमला नदी किनारको करिब दुई बिघा बलौटे जमिनमा तरबुजा खेती गर्नुभएको छ । उहाँले यस वर्ष तरबुजा उत्पादनका लागि करिब एक लाख रुपियाँ लगानी गरेको बताउनुभयो । उत्पादन भएको तरबुजा बिव्रmी नहुँदा लगानीसमेत उठाउन कठिन भएको उहाँले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले व्यापारी आउनै छाडेका छन् । कताकतै आए पनि क्विन्टलको सात÷आठ सय रुपियाँ मात्र मूल्य लगाउँछन् ।” बिक्री नहुँदा तरबुजा खेतमै कुहिन थालेको किसान यादवले बताउनुभयो ।
वडाध्यक्षको प्रत्यासीसमेत रहनुभएका किसान यादवले कमलाको नदी उकास जमिनमा विगत १० वर्षदेखि निरन्तर तरबुजा खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार पहिले धनुषाका किसानले मात्र तरबुजा खेती गर्ने भएकाले बजार राम्रो पाइन्थ्यो । पछिल्लो समय देशका विभिन्न जिल्लामा उत्पादन हुन थालेको र भारतबाट समेत ठुलो परिमाणमा तरबुजा भित्रिन थालेपछि यहाँको उत्पादनले बजार नपाएको उहाँको भनाइ छ ।
उहाँका अनुसार यस क्षेत्रमा करिब एक हजार किसानले कमला नदीको बगरमा व्यावसायिक रूपमा तरबुजा तथा मौसमी तरकारी खेती गर्दै आएका छन् । भूमिहीन किसानका लागि कमला नदीको बगर आम्दानीको मुख्य स्रोत भए पनि बजार समस्याले किसान निरुत्साहित बन्दै गएको अर्का किसान फेकन सदाले बताउनुभयो ।
अर्का किसान हेमकुमार मुखियाले स्थानीय उत्पादनको बजारीकरण गर्ने प्रभावकारी माध्यम नहुँदा किसान आर्थिक समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर बजारको अभाव छ, अर्कोतिर भारतीय उत्पादन निर्वाध रूपमा भित्रिरहेको छ । जसले गर्दा हामीले उत्पादन गरेको तरबुजा बिक्री नहुँदा लगानीसमेत उठाउन सकेका छैनौँ ।”
उहाँले गत वर्ष १० कट्ठा जमिनमा गरिएको खेतीबाट नाफा भएपछि यस वर्ष खेती विस्तार गरी १५ कट्ठामा पु-याइएको बताउनुभयो तर यस वर्ष बजारको समस्याका कारण अपेक्षित आम्दानी हुन नसकेको उहाँको भनाइ छ ।
किसान मुखियाका अनुसार दक्षिणमा जयनगरदेखि उत्तरमा बन्दीपुरसम्म कमला नदीको दुवैतर्फका किनारमा करिब दुई हजार बिघा क्षेत्रफलमा तरबुजा तथा मौसमी तरकारी खेती हुँदै आएको छ । यहाँका किसानले वार्षिक करिब १५ करोड रुपियाँ बराबरको कारोबार गर्दै आएका छन् ।
१५ वर्षदेखि तरबुजा खेती गर्दै आएका मुखियाले भन्नुभयो, “मेहनत गरेर उत्पादन गर्छौं । त्यही आम्दानीले परिवार चल्छ तर अहिले दिनभरि कुर्दा पनि ग्राहक आउँदैनन् ।” उत्पादन गर्न लगाएको लगानी पनि उठाउन मुस्किल भइरहेको उहाँले बताउनुभयो ।
कमला नदीको पटेर्वाघाट, मलहनिया, कठाल, फुलबरिया र नर्गीलगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा तरबुजा खेती गर्दै आएका छन् । किसान घुरण मुखियाले बजार अभावसँगै बाढीको जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा भएपछि कमला नदीमा आउने बाढीले बाली बगाउने र बालुवाले पुर्ने जोखिम रहन्छ । यो खेती खर्चिलोसँगै जोखिमपूर्ण छ ।”
उहाँले बिक्रीका लागि मुख्य बजार ढल्केबर चोक रहेको बताउँदै त्यहाँ लैजाँदा भारतीय तरबुजा पहिलेदेखि नै बजारमा रहने गरेकाले स्थानीय उत्पादन बिक्री नहुने गरेको बताउनुभयो । उहाँले किसानका लागि सहुलियत दरमा ऋण, मलखादको सहज व्यवस्था तथा स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।